माओवादीसँग एकता गर्न बाबुरामको नेतृत्वमा संयोजन समिति


६ मंसिर २०८०, बुधबार
baburam

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले समान विचार भएका पार्टीको एकताका लागि पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा आज (बुधवार) सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायत विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता गर्दै लैजाने निर्णय गरेको हो । अध्यक्ष भट्टराईको संयोजकत्वमा गठित संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य रहने पार्टीले जनाएको छ ।

सङ्गठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पु¥याउने र सबै पालिकाहरूको बैठक, समिति गठन र पुनःगठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको पार्टीले जनाएको छ । त्यसैगरी मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भूकम्पमा परि घाइते भएकाहरूको उपचार, भूकम्पपीडितलाई राहत र पुनःस्थापनाका लागि सरकारलाई अनुरोध गरेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७