प्रधानमन्त्रीलाई महेश बस्नेतको चेतावनी : नसच्चिए सिंहदरबारको कुर्सीबाट सडकमा पछार्छौ

‘अराजकतावादी, अपराधी र तस्करहरुलाई सदाको लागि सफा गर्न मानव सागर उतार्छौ’


७ मंसिर २०८०, बिहीबार
mahesh voice

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको भविष्य अन्धकार बनाएमा प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

आज (बिहीबार) तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले एमालेको कार्यक्रम अब सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताए ।

उनले भने ‘म प्रचण्डलाई कान खोल्ने गरेर, झिर रोपेर सुन्न चेतावनी दिन्छु –तपाइँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनु भयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो ? त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ’, बस्नेतको चेतावनी दिए । उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।

नेता महेश बस्नेतले आफूहरुलाई निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । उनले आजबाट दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे । युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको बताए ।

उनले थपे, ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौं । कसैको विरुद्ध कार्यक्रम गर्दैनौं । तर, हाम्रो कार्यक्रमविरुद्ध निहु खोजेर आउँछ भने हामी छाड्दैनौं । दुर्गा प्रसाईंको आजबाट हावा खुस्किएको छ । म चेतावनी दिन चाहन्छु भोलिदेखि ठीक ठाउँमा बस, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’ उनले भने, ‘सम्भवत हामी फागुनमा काठमाडौंमा मानवसागर उतार्छौ । त्यसपछाडि यी अराजकतावादी, अपराधि र तस्करहरुलाई सदाको लागि सफा गर्छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७