जातीय विभेद गरेको अभियोगमा पोखराका अध्यक्षलाई कैद र जरिवाना


७ मंसिर २०८०, बिहीबार
bharat bahadur adhikari pokhera

पोखरा । आफ्नै वडा सदस्यमाथि जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे चार महिना कैद सजाय सुनाएको छ । सार्वजनिक पद धारणा गरेको व्यक्ति भएकाले थप ५० प्रतिशत सजाय तोकिएको छ ।

पोखरा–२४ का वडाध्यक्ष अधिकारी यसअगाडि धरौटीमा छुटेका थिए । गत माघ ९ गते एक लाख ५० हजार रुपैयाँ तिरेर धरौटीमा छुटेका अधिकारीविरुद्धको मुद्दामा अदालतले बिहीबार उनलाई साढे चार महिना कैदसहित ७५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

न्यायधीश अवनी मैनाली भट्टराइको एकल इजलासले पीडित वडा सदस्य मैया नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिराउन समेत आदेश दिएको छ । वडाध्यक्ष अधिकारीले गएको वर्ष पुस १८ गते एक सार्वजनिक कार्यक्रममा सदस्य नेपालीमाथि जातीय विभेदजन्य गालीगलौज गरेका थिए । त्यसविरुद्ध नेपाली कानुनी प्रक्रियामा गएकी थिइन् ।

त्यसको पाँच दिनपछि कास्की प्रहरीले वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीमा नेपालीले दिएको जाहेरीमा अधिकारीलाई नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ बमोजिम कारबाही गर्न माग गरिएको थियो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएबमोजिम फैसला भएको हो । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । साथै कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्ने प्रावधान थियो, सोही अनुसार फैसला आएको हो । पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् । बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७