प्रहरीले गर्‍यो दुर्गा प्रसाईलाई आफ्नै घरमा ‘नजरबन्द’


८ मंसिर २०८०, शुक्रबार
Durga prasai home bhaktapur

काठमाडौं । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । भक्तपुरको ठिमीस्थित घरबाट प्रसाईंलाई बाहिर निस्किन अवरोध गरिएको हो ।

उनको नेतृत्वमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी थियो । काठमाडौं प्रशासनले भने प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

durga prasai home bhaktapur 1

प्रसाईं निवासमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन । उनका ३० भन्दा धेरै समर्थक पक्राउ परेका छन् । सचिवालय सदस्य विनोद बजगाईंले प्रहरीले नजरबन्दमा राखेको र कारण बुझ्न प्रहरीको केन्द्रीय कार्यालय जान लागेको बताएका छन् ।

प्रसाईले हिजो साँझ पत्रकार सम्मेलन गरी आज (शुक्रबार) बाट हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७