दुर्गा प्रसाईको तीनकुनेको कार्यक्रम तनावपूर्ण हुने अनुमान : ठूलो संख्यामा प्रहरी तैनाथ

प्रसाईका समर्थकहरुमाथि प्रहरीको निगरानी


८ मंसिर २०८०, शुक्रबार
police 11

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाई समूहले आज (शुक्रबार) तीनकुनेमा गर्ने भनेको कार्यक्रममा पनि तनाव सिर्जना हुनसक्ने देखिएको छ । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले हिजोबाट राजधानीमा सुरु गरेको वृहत्त मुक्ति आन्दोलन आज तीनकुनेमा गर्ने तयारी छ ।

अहिले तीनकुनेमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँ हिँड्डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ । प्रहरीले पैदलयात्रीलाई जम्मा हुन र सडक किनारमा रोकिन दिएको छैन । शंकास्पद व्यक्तिमाथि चेकजाँच गर्दै केहीलाई पक्राउ समेत गरिएको छ ।

भक्तपुरदेखि नै चोकचोकमा प्रहरी निगरानी बढाइएको छ । आज बिहान प्रहरीले दुर्गा प्रसाईँका केही समर्थकलाई पक्राउ गरेको थियो । प्रसाईको भक्तपुर थिमीस्थित निवासबाहिर अहिले प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईको घरलाई वरपरबाट घेरेको छ ।

प्रसाई समूहले तीनकुनेमा कार्यक्रम गर्न अहिलेसम्म स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन । भने स्थानीय प्रशासनले प्रसाई समूहलाई तीनकुनेमा कार्यक्रम गर्न कुनै अनुमति नभएको विज्ञप्तीमार्फत स्पष्ट पारिसकेको छ । जसका कारण स्थिति तनावपूर्ण हुनसक्ने अनुमान गरिएको छ । ‘उहाँहरूले आज तीनकुनेमा कार्यक्रम गर्ने भनेर सुनिएको छ । तर, स्थानीय प्रशासनसँग कुनै समन्वय गर्नुभएको छैन । हामी कार्यालयमा बसिरहेका छौँ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘तीनकुने निकै संवेदनशील क्षेत्र हो । नजिकै एयरपोर्ट र निषेधित क्षेत्र छ । उहाँहरुको हिजोको हर्कत र अभिव्यक्ति सुन्दा त्यहाँ कार्यक्रम गर्न दिइँदैन ।’

संविधान प्रदत्त नागरिक अधिकारका रुपमा भेला हुन पाउने र कार्यक्रम गर्न पाउनुपर्ने हकअनुसार कार्यक्रम गर्न दिइने अवस्था रहेपनि सम्भावित अशान्तिपूर्ण आन्दोलन तीनकुनेमा गर्न नदिइने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएका छन् ।
उनले भने, ‘हिजोको कार्यक्रम र पत्रकार सम्मेलनमा संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सीमा नाघेर बोल्नुभएको छ । हिंसा फैलाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने किसिमका उत्तेजक अभिव्यक्तिहरू सुनिएका छन् ।’ यति सुन्दासुन्दै जानाजान जोखिम निम्त्याउन तीनकुनेमा कार्यक्रम गर्न नदिइने उनले प्रस्ट पारे । ‘हुल अशान्त भए सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने हुनसक्छ । हुलदङ्गा हुनसक्छ । त्यसोभए अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) ले फरक नजरले हेर्छ ।’

स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा भीड आउनखोजे बल प्रयोग गरेर रोक्ने रणनीति बनाएको छ । जुनकुरा मौखिक रुपमा नै आन्दोलनकारी पक्षलाई जानकारी गराइसकेको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतले आधिकारिक रुपमा छलफलमा आए बल्खु क्षेत्रमा कार्यक्रम गर्न दिने जनाएका छन् ।

‘त्यो पनि हिजोको ठाउँमा होइन, अलि पर नै हो । त्यसको सहमति लिन पनि प्रशासन कार्यालयमा लिखित रुपमा आउनुपर्छ,’ उनले भने । उता प्रसाई समूहले भने तीनकुनेमै कार्यक्रम गर्ने हठ गरिरहेको छ । जसअनुसार कार्यक्रम नै सार्वजनिक गरिएको छ । प्रसाई स्वयमले फेसबुकमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने र महाअभियानमा सह प्रवक्ता राजानन्द माण्डव्यले कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । ‘हिजो शान्तिपूर्ण गर्ने भनिएको कार्यक्रम अलि नियन्त्रणमा भएन । आन्दोलन हाम्रो नियन्त्रणबाहिर देखियो । मुख्य आयोजक नपुग्दै सह आयोजकहरूले स्टेज कब्जा गरेर मनगढन्ते कुरा गरेर कार्यक्रम नियन्त्रणबाहिर गयो,’ सहप्रवक्ता माण्डव्यले भने, ‘त्यसैले आजको कार्यक्रम नियन्त्रणमा राख्न एकढोकाबाट मात्रै कार्यक्रम सञ्चालन गर्ने प्रयास गरिएको हो ।’

कार्यक्रम संयोजक प्रसाईबाट पनि उत्तेजक अभिव्यक्ति सुनिएकाले अनियन्त्रित भएको उनले बताए । ‘संयोजकज्यु अलि उत्तेजक सुनिनुभएछ । त्यसले समस्या भयो । हाम्रो उद्देश्य कसैसँग लड्ने, भिड्ने भन्दा पनि शान्तिपूर्ण रुपमा आफ्ना माग राख्ने हो,’ उनले भने । यद्यपि आजको कार्यक्रम पनि पूर्ण रुपमा नियन्त्रित र शान्तिपूर्ण हुनेमा उनी आफै विश्वस्त देखिन्नन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७