दुर्गा प्रसाईको प्रश्न : जनताको आवाज उठाउँदा ‘होम अरेस्ट’ हुनुपर्ने ?


८ मंसिर २०८०, शुक्रबार
Durga prasai

काठमाडौं । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले आफूलाई प्रहरीले ‘होम अरेष्ट’ गरेको बताएका छन् । भक्तपुरको ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गर्दै उनले अहिले आफू ‘होम अरेस्ट’ मा रहेको बताए ।

उनले आफूलाई गिरफ्तार गरे पनि आन्दोलन नरोकिने दावी गरे । ‘मलाई सक्नु हुन्छ भने प्रहरी हिरासतमा लानुस् । केही फरक पर्दैन’, उनले भने । उनले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने चेतावनी दिए । उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे ।

‘मैले जनताका लागि बोल्दा होम अरेस्ट हुनुपर्ने ?’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?’ उनले भने, ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्‍याउने एउटा भर्‍याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन ? आज उहाँलाई सत्तामा पुर्‍याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

उनले थपे, ‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नु हुन्थ्यो । उहाँहरुको आवाज उठाउँदा मलाई अरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ । पुलिसको यातना भोग्न पनि तयार छु ।’ यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे । ‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस,’ प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७