दुर्गा प्रसाई समर्थक आन्दोलनकारी धमाधम पक्राउ


८ मंसिर २०८०, शुक्रबार
prasai supportor

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् ।

आज ११ बजे देखि तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पुर्‍याउने उद्देश्यले आन्दोलन गर्न लागेको सूचनाका आधारमा आज बिहानसम्म पाँच जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत पाँच जना रहेका छन ।

उता जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुनेमा प्रसाई समूहलाइ आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए । प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको नाममा तीनकुनेमा पूर्व निर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका कार्यकर्तालाई प्रहरीले धरपकड गरेको हो ।

प्रत्यक्षदर्शीका अनुसार कार्यक्रममा सहभागी हुने आएका ८-९ जनालाई तीनकुनेबाट अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियान समेत सञ्चालन गरेको छ। प्रहरीले समूहमा जम्मा भएकामाथि निगरानी समेत बढाएको छ ।

प्रसाई पक्षले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने उद्घोष गरेका थिए । तर उनीहरुले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला-जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता रविन्द्रप्रसाद आचार्यले गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७