अहिले व्यवस्थामाथि नभई काम गर्ने शैलीमाथि प्रश्न उठेको हो : उपप्रधानमन्त्री खड्का


८ मंसिर २०८०, शुक्रबार
Purna bahadur Khadka

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गरे । उनले भने, ‘प्रश्न हाम्रो व्यवस्थामा उठेको होइन, प्रश्न हाम्रो काम गर्ने प्रक्रियामा, शैलीमा, सुशासनको सन्दर्भमा हामीले गर्नुपर्ने समयले माग गरेअनुसारको राज्य सञ्चालनमा सबै तहका प्रदेश, संघ, स्थानीय सरकार सञ्चलनका क्रममा सुशासनको, जनताको चाहनाअनुसारको अपेक्षालाई हामीले केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरुमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । अहिले भएका गतिविधिले हामीलाई त्यसतर्फ बढी केन्द्रित गराउन प्रेरित गरेको छ ।’

समयले माग गरेअनुसारको काम गर्न नसक्दा प्रश्न उठेको उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहनाअनुसारको अपेक्षालाई केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरु ध्यान केन्दित गर्न जरुरी रहेको बताए । उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् ।
‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताए । उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गरे ।

‘दूरसञ्चार क्षेत्रको विकास डिजिटल नेपालको मेरुदण्ड हो । यसर्थ, यस क्षेत्रको विकासका लागि समुचित रणनीति, यथेष्ट पूर्वाधार विकास एवम् आवश्यक जनशक्तिको विकासका लागि लगानी आजको प्राथमिकता हो । यही प्राथमिकतालाई बुझेर नेपाल सरकारले आजका नीति तथा कार्यक्रमहरूमा, योजनाहरूमा दूरसञ्चार तथा अन्य प्राविधिक क्षेत्रको विकासमा विशेष जोड दिँदै आएको छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उपप्रधानमन्त्री खड्काले नेपालको कठिन एवम् दुर्गम भू–बनोटको अवस्थितिमा अन्य पूर्वाधारहरूको तुलनामा दूरसञ्चार बढी महत्त्वपूर्ण देखिने बताए । उनले दूरसञ्चार क्षेत्रमा द्रुतगतिले भइरहेको आधुनिक प्रविधिको विकास तथा यसको संरचनामा भइरहेको गतिशील परिवर्तनले यस क्षेत्रमा नयाँ अवसरहरू देखापर्दै आएका पनि उल्लेख गरे ।

दूरसञ्चार क्षेत्रको विकासका बारेमा अन्तर्राष्ट्रिय प्रयोग र अभ्यासलाई समेत अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा यसको विस्तार र उपयोगलाई समग्र सामाजिक एवम् आर्थिक विकाससँगै जोडेर हेर्नुपर्ने बेला आएको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उनले भने, ‘एक्काइसौँ शताब्दीको गतिशील परिदृश्यलाई नियाल्दा, राष्ट्रहरूको शक्ति र सामथ्र्यलाई आकार दिन दूरसञ्चारको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ । विविध संस्कृति र भूगोलले भरिपूर्ण नेपालको सन्दर्भमा दूरसञ्चारको विकास एउटा आमूल परिवर्तन साबित भएको छ । यसको विकासले नेपाली जनताको विकासप्रतिको उत्कट र तीव्र चाहनालाई समेत प्रतिबिम्बित गर्दछ ।’

नेपालमा दूरसञ्चार विकासको फाइदा विद्यार्थीमा पुगेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो । यसले आर्थिक वृद्धि, सामाजिक विकास र समग्र प्रगतिका लागि नयाँ बाटो खोलेको पनि बताए । ‘शिक्षाको क्षेत्रमा दूरसञ्चारले सहरी र ग्रामीण विद्यार्थीहरूबीचको खाडललाई कम गर्दै भौगोलिक अवरोधहरू हटाई विश्वस्तरीय शिक्षामा पहुँच प्रदान गरिरहेको छ’, उनले भने, ‘टेलिमेडिसिनले स्वास्थ्य सेवामा क्रान्ति ल्याउनेछ र भौगोलिक रूपमा अलग्गिएकाहरूलाई गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्ने अवस्था निर्माण भइरहेको छ । डिजिटल अर्थ व्यवस्था फस्टाउँदै छ, उद्यमीहरू र साना व्यवसायहरूलाई विश्वव्यापीस्तरमा समेत फस्टाउन सहयोग गर्नेछ, भन्ने हाम्रो विश्वास रहेको छ ।’

उपप्रधानमन्त्री खड्काले दूरसञ्चारले अवसरहरूसँगै चुनौतीहरू पनि ल्याएको बताए । उनले दूरसञ्चार सेवाको अवसरबाट कोही नागरिक पनि वञ्चित नहुनुपर्नेमा सरकार सचेत रहेको जानकारी दिए । दूरसञ्चारको विकासले नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्नेमा निहित हुनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७