दुर्गा प्रसाईंलाई प्रजिअ बस्नेतको चेतावनी : काठमाडौंमा गैरकानुनी हर्कत चल्दैन


२०८० मङ्सिर ८ शुक्रबार ०७:३३ बजे

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ ।

आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आन्दोलनलाई सुरक्षित बनाउन उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाएको जानकारी दिएका हुन् ।

‘काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएका छौँ । काठमाडौं उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा छ,’ बस्नेतले भने, ‘संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति, स्वतन्त्रता हक र बिना हातहतियार भेला जम्मा भइ शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै यस्ता अराजक भीड जसले कानुन हातमा लिन खोजेको छ, त्यस्ता समूह र व्यक्तिलाई चेतावनीस्वरुप अनुमतिबिना कार्यक्रम गर्न पाइँदैन भनेका छौँ ।’

बस्नेतले बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रवन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको जानकारी दिए । प्रसाईंको समूहले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको बस्नेतले बताए । प्रसाईंले निषेधित क्षेत्र तोड्नेलगायतका अभिव्यक्ति दिएकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको बस्नेतको भनाइ छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाडौंमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग कुनै पनि अनुमति नलिकन आज तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भइ निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने, उहाँहरूमाथि आक्रमण गर्ने भन्ने अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले सो कार्यक्रमको सन्दर्भमा तीनकुने क्षेत्रमा अनुमति नलिकन पाइँदैन भनेका थियौँ, बल्खुमा गर्नु भन्दा उहाँहरू आजसम्म अनुमति लिन आउनु भएको छैन,’ उनले भने ।

कानुन हातमा लिन खोज्ने व्यक्ति र समूहलाई चेतावनीस्वरुप अनुमतिबिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको बस्नेतले बताए । प्रसाईंले बिहीबार साँझ पत्रकार सम्मेलन गरी कानुनलाई चुनौती दिने र गैरकानुनी कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यस्तो हर्कत काठमाडौंमा नचल्ने उनको चेतावनी छ ।

‘उहाँहरूले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानुनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो,’ बस्नेतले भने, ‘यस्ता गैरकानुनी हर्कत काठमाडौंमा चल्दैन । उहाँलाई हामीले नजरबन्दमा राखेको छैन । उहाँ काठमाडौं छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौँ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७