भावी प्रधानसेनापतिको लाग्यो टुङ्गो : उपरथी सिग्देल रथी बढुवाका लागि सिफारिस


८ मंसिर २०८०, शुक्रबार
Ashok sigdelsena

काठमाडौं । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गरेको छ । सैनिक मुख्यालयमा आज (शुक्रबार) बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । सेनाले रथी सीताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो ।

बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, उनले उमेर विवादका कारण दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको बढुवा प्रक्रिया अघि बढेको हो ।

सैनिक मुख्यालयले सिग्देलको समेत व्यक्तिगत विवरण छानविनपछि बढुवा प्रक्रिया अघि बढाएको दावी गरिएको छ । उनको समेत उमेर विवादको चर्चा थियो । तर, सिग्देलले सैनिक मुख्यालयमा बुझाएको कागजातमा पछि प्रक्रिया अघि बढाइएको सेनाका एक उपरथीले जानकारी दिए ।

सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो । यसलाई लिएर सेनाभित्र र बाहिर उनको नेतृत्व क्षमतामाथि प्रश्न खडा भएको छ । शर्माले नै पाण्डेको बढुवा प्रक्रिया अघि बढाउन जोडबल गरेको थिए । यद्यपी सरकारी निकायबाट आएको जवाफको आधारमा आफुले पाण्डेको प्रक्रिया अघि बढाएको प्रधानसेनापतिले जवाफ दिंदै आएका छन् ।

भावी प्रधानसेनापतिसँग जोडिएको रथी बढुवा विवादमा आएपछि सेनाले सिग्देलको समेत छानविन गरेर प्रक्रिया अघि बढाएको बताइएको छ । सेनाको बोर्ड बैठकले शुक्रवार सिग्देलको नाम सिफारिससहित सात दिने सूचना समेत जारी गरेको छ । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकास पाएसंगै उनको ठाउंमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुने भएकाले यसलाई चासोका साथ लिइएको हो ।

रथी बढुवाको लाइनमा यसपछि उपरथीहरु निर्मल थापा, सन्तोष ढकाल र बावुराम श्रेष्ठ समेत छन् । थापाको शैक्षिक योग्यतामा समेत प्रश्न उठेकाले रथी खड्काले पुस ३ पछि अवकास पाउने ठाउँमा कसको बढुवा हुने भन्ने टुंगो लाग्न बाँकी नै छ ।

उपरथी बढुवाको लाइनमा रहेका सहायकरथी सन्तोषबल्लव पौडेलले समेत १८ वर्ष नपुग्दै सेनामा जागिर खाएको भन्दै अहिले सैनिक मुख्यालय र रक्षा मन्त्रालयमा उजुरी परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७