हमासले छाड्यो १३ बन्धक, इजराइलले ३९ कैदी, परेनन् नेपालका विपिन


९ मंसिर २०८०, शनिबार
Bipin Hamas

काठमाडौं । प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ । एशोसियट प्रेसका अनुसार गाजामा स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि युद्धविराम भएको हो ।

हमासले बन्दी मुक्त गर्ने र इजराइलले गाजामा चार दिन युद्धविराम गर्ने सहमतिलाई इजराइली सरकारले मंगलबार अनुमोदन गरेको थियो । इजराइली सरकारले उक्त सहमति अनुमोदन गरेको तीन दिनपछि शुक्रबार बिहानदेखि गाजामा युद्धविराम भएको हो ।

gaza hamas

हमासले इजरायलबाट बन्धक बनाएर गाजा पुर्‍याएको इजरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो । बदलामा इजराइलले गाजामा आक्रमण नगर्ने र इजराइली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो ।

एपीका अनुसार सहमति भएबमोजिम शुक्रबार दिउँसो हमासले १३ जना इजराइली बन्धकलाई मुक्त गरेको छ । इजराइलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ । रिहा हुनेमा २४ जना महिला र १५ जना किशोर किशोरी रहेको एपीले उल्लेख गरेको छ । उनीहरूमध्ये केही इजराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए ।

थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् । ‘विदेश मन्त्रालय र सुरक्षा निकायले १२ थाइ बन्धकहरू रिहा भइसकेको पुष्टि गरेका छन् । दूतावासका अधिकारीहरू उहाँहरूलाई लिन जाँदै हुनुहुन्छ । उहाँहरूको परिचय भने खुलिसकेको छैन,’ प्रधानमन्त्री थाविसिनले एक्स (ट्विटर) मा लेखेका छन् । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सचिवालयले पनि हमासले १३ बन्धक रिहा गरेको जनाएको सिएनएनले उल्लेख गरेको छ । रिहा भएका बन्दीहरूलाई रेडक्रसको जिम्मा लगाइएको छ ।

शुक्रबार गाजा क्षेत्रमा बन्दुक र हवाइ हमलाका आवाज नसुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । हमासले प्रत्येक दिन कम्तीमा १० जना बन्धकहरू रिहा गर्ने र प्रत्येक रिहाइमा इजराइलले गाजामा थप एक दिन युद्धविराम गर्ने सहमति भएको छ । इजराइली सरकारले हमासले गजामा लगेको सबै बन्धकहरूलाई रिहा गर्ने विश्वास व्यक्त गरेको छ । उसले युद्धविरामका लागि पनि बन्धकहरूलाई रिहा गर्ने इसराइली प्रधानमन्त्री नेतन्याहुले बताएका थिए ।

युद्धविराम भएपछि गाजामा विभिन्न देशहरूले मानवीय सहायता पठाएको थियो । खाद्यान्न, इन्धन र औषधि बोकेका सैयौं ट्रकहरू गाजामा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । युद्धविराम भएपछि त्यहाँका मानिसहरूले लामो समयपछि राहतको सास लिएका छन् । उनीहरूले युद्धविरामको खुलेर स्वागत गरेका छन् ।

अक्टोबर ७ को बिहानै हमास समूहले इजराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो । हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो । आक्रमणका दिन हमास समूहले त्यहाँबाट इजरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो । बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन् । तर पहिलो चरणमा विपिन मुक्त भएनन् ।

त्यसयता इजराइलले गाजामा हमासविरूद्ध लगातार आक्रमण गर्दै आइरहेको थियो । इजराइलको आक्रमणबाट गजामा अहिलेसम्म १३ हजार ३ सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ । ठूलो संख्यामा नागरिकहरू मारिएपछि गाजामा युद्धविराम गर्न इजराइलमाथि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको दबाब बढिरहेको थियो । संयुक्त राष्ट्र संघले पनि इजराइललाई गाजामा युद्धविराम गर्न आग्रह गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७