झापामा पूर्व राजाको ‘तामझाम’ सहित शक्ति प्रदर्शनको तयारी, सुरक्षा व्यवस्था कडा

कोशी प्रदेशका विभिन्न जिल्लाबाट राजावादीहरु भेला हुँदै


९ मंसिर २०८०, शनिबार
cover

झापा । झापाको बिर्तामोडस्थित इकोम कलेजको आयोजनामा राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि हिजै झापा आइपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार दिउँसो झापा पुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बसेका छन् ।

आज दिउँसो १ बजे पूर्व राजा शाह इकोम कलेजको आयोजनामा हुने शालिक अनावरण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । कलेजकै कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा शाहलाई मौका छोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजवादी पक्षधरहरूले उनको ण्पक्षमा बृहत् स्वागत र्‍याली निकाल्दै छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पूर्व राजाको कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन डेढ सातादेखि नै खटिरहेका छन् । पूर्वराजाको कार्यक्रममा सहभागी हुने गाडीहरु तामझामसहित सिंगारिएका छन् ।

gyanendra x king

मेची रिसोर्टबाट निस्कन साथ पूर्व राजा शाहलाई राप्रपा कार्यकर्ता र राजवादी पक्षधरहरूले मोटरसाइकल स्कर्टिङ गरी बिर्तामोडसम्म लैजाने कार्यक्रम रहेको जनाइएको छ । अहिले राप्रपा कार्यकर्ता र राजवादी पक्षधरको धुलाबारीमा बाक्लो जमघट भइसकेको छ ।

राजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भई रहेका छन् । झापामा राजा आएसँगै राप्रपाले र्‍याली गर्ने तयारी गरेको छ । मेचीनगरबाट र्‍याली निकाल्ने र्‍यालीमा सहभागी बन्न विभिन्न स्थानबाट राजावादीहरू भेला भएका ।

gyanendra

पूर्व राजा शाहको कार्यक्रमलाई लक्षित गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘धुलाबारीदेखि बिर्तामोडसम्मको जोड्ने पूर्व–पश्चिम राजमार्गमा कडा सुरक्षा व्यवस्था मिलाएका छौँ,’ डीएसपी रिजालले भने, ‘शान्तिपूर्ण र्‍याली कार्यक्रममा हुलदङ्गा हुन नदिन ठाउँ–ठाउँमा प्रहरी परिचालन गरेका छौँ ।’

र्‍यालीका कारण राजमार्ग अवरुद्ध हुन नदिन ट्राफिक प्रहरी पनि तैनाथ गरिएको उनले जानकारी दिएका छन् ।
यता इकोम कलेजले सालिक अनावरण कार्यक्रमको तयारी पूरा गरिसकेको जनाएको छ । कलेजभन्दा बाहिर अरूले राजनीतिक कार्यक्रम गर्न खोजे पनि कलेजको प्राङ्गणभित्र राजनीतिक गतिविधि हुन नदिने कलेजका अध्यक्ष आलोक कार्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७