स्वास्थ्यमन्त्री बस्नेतको आरोप : डा. गोविन्द केसी मेडिकल माफियाहरुबाट सञ्चालित छन्


२०८० मङ्सिर ९ शनिबार ०७:५२ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा. गोविन्द केसी मेडिकल माफियाहरुबाट सञ्चालित रहेको आरोप लगाएका छन् ।

वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भए पनि मेडिकल गिरोह जस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराए । उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए ।

नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो । मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैंयाका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैंया भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए ।

राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पटक–पटक आग्रह गरे ।

मन्त्री बस्नेतले भने, ‘अहिलेको हिसावले हो भने ५ वर्षपछि यो देशमा डाक्टर र नर्स पाइँदैन । मेरो प्रस्तावलाई कार्यान्वयन गर्न धेरै गाह्रो पनि छैन । यो प्रस्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरु संसारभर हामी पठाउन सक्छौं । अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाईरहेका छौं । सारा बर्बाद गरेका छौं । कोरा व्यक्तिलाई विदेश पठाएर । यसैकारण ठगिएका छन हाम्राहरु । बदनाम भएका छन् । आम्दानी राम्रो हुँदैन । तर हामीले योग्य, दक्ष मानिसहरु जाँदाखेरी त्यसको सम्मान अर्कै हुन्छ ।’

उनले थपे, ‘राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ । तर हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मेडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहीँ भोकमरीमा पर्नेछौं मेडिकल शिक्षामा । यो किन नगर्ने ? मैले क्याबिनेटमा यो कुरा लगे । कार्यक्रम एकदमै राम्रो भन्नुभयो सम्माननीय प्रधानमन्त्री ज्यूसहित सबै मन्त्री ज्यूहरुले । लागू कसरी गर्ने त्यो चाहीँ हेर्नुपर्छ भन्नुभयो । कानून त हामीले बनाउने हो नि । यदि यो प्रस्ताव ठिक छ भने कानून त्यो अनुसार बनाउन किन कन्ज्युस्याँई गर्ने ? त्यहाँ पनि फेरि गिरोहहरुको खेल हुन्छ । कुरा क्लियर छ । मेडिकल शिक्षा नेपालमा फटाफट पढ्न र पढाउन पाउने व्यवस्था भयो भने यसको असर कहाँ कहाँ पर्छ ? त्यहाँबाट खेल्न थाल्छन । तपाईहरु सबैले यो खेल्ने कुरामा म अगाडि बढे । यो खेल्न खोज्ने कुराको बिरुद्धमा तपाईहरुको पनि साथ चाहिन्छ मलाई । तपाईहरुको पनि सहयोग चाहिन्छ पार लगाएर छोड्छु मैले ।’

उनले भने, ‘यही हो पढने, यही हो गर्ने, यही हो बनाउने । म धेरै पटक मन्त्री भईसकेको मान्छे । मलाई गाह्रो पारिदिएको हुन्छ बेलाबेलामा निर्णय गर्न । गरेपछि पनि कार्यान्वयन गर्न दिँदैनन् । गरेको निर्णय उल्टाउन खोजिन्छ अहिले पनि कतिपय कुराहरु । त्यस कारणले यो राष्ट्रको लागि आवश्यक छ । देशको लागि आवश्यक छ । जनताको लागि आवश्यक छ । आधारभुत स्वास्थ्य सेवा जनतालाई दिनका लागि यो आवश्यक छ । नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो । हामी हिँडिराखेका छौं । म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ । किन हिँडेको भनेर मैले सोधे । साथीहरुले काम चाहीँ गल्ती थियो । तर हामी हिँड्नैप¥यो । अनि किन हिँड्या भनेको ? ज्यान जोगाई दिन मान्छे मर्न लाग्यो भनेर । त्यस्तो पनि कुरा हुन्छ ?’

उनले थपे, ‘कन्भिन्स गर्नुप¥यो नि । यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईलाई सञ्चालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईहरुले । होइन यो अभियान अगाडि बढ्दा तपाईहरु ओल्टेकोल्टे हुन थाल्यो भने तपाईहरुलाई पनि कारबाही हुन्छ । म भए भने त्यो हुन्छ । नभए के हुन्छ मलाई थाहा छैन । तपाईका लागि लड्ने, तपाईका लागि भिड्ने अनि तपाईले साथ नदिएर हुन्छ ? त्यसकारण यो विषयमा मैले तपाईहरुलाई अनुरोध गरेँ ।’ मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७