भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो


२०८० मङ्सिर ९ शनिबार १६:०८ बजे

कास्की । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । कृषि तथा पशुपंक्षीका क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरा ल्याइएका राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्र बिर्य उत्पादन सिकाइ सुरु हुनेछ ।

राँगाबाट आगामी पुसदेखि बिर्य सङ्कलन सुरु गरिने पाण्डेले बताए । ‘मुर्रा राँगा स्वस्थ छन् भनेर प्रमाणित गरेर नेपाल ल्याइएको भए पनि यहाँ क्वारेन्टिनमा राख्नुपर्ने नियम छ । क्वारेन्टिन अवधि पूरा नभई अन्य बथानसँग मिसाउँदैनौँ”’ उनले भने, ‘यहाँँ ल्याइएका सबै दुई वर्ष उमेर पूरा भएका छन् । विभिन्न पशु रोगको परीक्षणपछि मात्र बिर्य सङ्कलन सुरु गर्छौं ।’

एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज बिर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले जनाएको छ । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख डा. पाण्डेले बताए । भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रुपेडिया नाका हुँदै स्वदेश ल्याइएको हो । उच्च नश्लका मुर्रा भैँसीले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैँसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७