केपी ओली कप : लुम्बिनी प्रदेशलाई एपीएफले हरायाे, ऐरीले लिए पाँच विकेट


९ मंसिर २०८०, शनिबार
kp oli cup 2

पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले लुम्बिनी प्रदेशलाई ८४ रनले हराएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । एपीएफका अरुण ऐरीले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका ऐरीले ७ रन खर्चेर महत्वपूर्ण पाँच विकेट लिएका हुन् । भुवन कार्कीले २, अभिनाष बोहरा र अमर रौटालाले १–१ विकेट लिए ।

kp oli cup 1

ब्याटिङमा लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोडे । रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । एपीएफका लोकेश बमले विष्फोटक पारी खेले । बमले १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन जोडे ।

एपीएफका कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले २–२ विकेट लिए । जितसँगै एपीएफको सेमिफाइनलमा पुग्ने संभावना कायमै छ । पहिलो खेलमा एपीएफ गण्डकी प्रदेशसँग ४ विकेटले पराजित भएको थियो । समूह बीमा एपीएफ र गण्डकीको २–२ अंक र लुम्बिनी अंकबिहीन छ ।

सेमिफाइनलको टुंगो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ । लुम्बिनीले जित निकालेको खण्डमा रनरेट धेरै भएको टिम सेमिफाइनलमा प्रवेश गर्नेछ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७