जन्मँदै कोही राजा हुने कुरा अब स्वीकार्न सकिंदैन : अध्यक्ष ओली

‘सरकारले राजनीतिलाई अराजक बनायो’


९ मंसिर २०८०, शनिबार
oli

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मँदैखेरी कोही राजा हुने कुरा अब स्वीकार्य नभएको बताएका छन् । आज (शनिबार) काठमाडौँमा नेपाल संवतका अवसरमा गरिएको कार्यक्रममा उनले सरकारले नराम्रो काम गर्दैमा गणतन्त्र खराब नहुने र ढुङ्गे युगतिर फर्किन नसकिने बताए ।

उनले भने, ‘जनताभन्दा एउटा व्यक्ति ठूलो हुने कुरा, एउटा परिवार हुने कुरा अबको सचेत जनताले स्वीकार्न सक्दैन । अबको नयाँ पिँडीहरूले यस्ता कुरा स्वीर्कान सक्दैन । हामीले बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नु पर्दछ ।’ उनले आफू ५८ वर्षदेखि देशका लागि जेलनेल यातना सहेको मान्छे भएको हुनाले आफू एमालेको नेता मात्र नभई देशकै मान्छे भएको दाबी गरे । उनले प्रश्न गरे । ‘माओसेत्सुङ चीनको एउटा पार्टीको नेता हुन कि सिङ्गै चीनको नेता हुन ? जवहरलाल नेहरु वा मोदी तिनका पार्टीका नेता हुन कि सिङ्गो भारतको हुन ? त्यसकारण हामीले यो भ्रम राख्नु हुँदैन ।’

उनले एमाले मात्रै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेपालको एक मात्र पार्टी भएको दाबी गरे । ओलीले देशलाई अस्थिरतामा फसाउने खेल भइरहेको पनि उल्लेख गरे । उनले भने, ‘हाम्रा जनतालाई पहिचानका नाममा, जातका नाममा अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । झगडा लगाउने प्रयास भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । केही समय अघि हिन्दु र मुसलमानबीचमा लडाई लडाउने प्रयास भयो । त्यसमा असफल भए । त्यसपछि अरू असान्दर्भिक कुरा ल्याएर जनतालाई अलमल्याउने काम भइरहेको छ ।’

अहिलेको सरकारले काम गर्न नसकेको बताउँदै उनले देशलाई र राजनीतिलाई अराजकतातिर लगेको बताउँदै सरकारले अराजकतालाई नियन्त्रण नगरी प्रोत्साहित गर्ने काम गरेको पनि दाबी गरे । उनले राष्ट्रपतिले छानी छानी गुण्डाहरूलाई माफी दिने गरेको, भ्रष्टाचार बढेको, सुन तस्करी बढेको भन्दै कुशासनको चर्चा गरेर साध्यै नरहेको बताए । ओलीले नेपालको सीमा रक्षाका लागि नेपाली जनतालाई लिएर एमाले लड्न तयार रहेको पनि उल्लेख गरे । ओलीले सरकारले नै राजनीतिलाई अराजक बनाएको आरोप लगाए । उनले सरकारले नै गुण्डाहरूलाई प्रश्रय दिएको बताए ।

‘अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ । राजनीतिलाई अराजक बनाएको छ । प्रहरीले समातेको गुण्डाहरूलाई सरकारले छोड्न लगाउँछ । राष्ट्रपतिले माफी दिन्छन् । समाजमा सुशासन छैन,’ उनले भने । उनले व्यक्तिमा खराबी हुने भन्दै लोकतन्त्र कहिल्यै खराब हुन नसक्ने बताए । ‘जसले गल्ती गरेको त्यो मान्छे खराब हुन सक्छ । व्यक्ति खराब हुनसक्छ । तर लोकतन्त्र र गणतन्त्र खराब हुन सक्दैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७