भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जाँदैन थियो : प्रचण्ड


२०८० मङ्सिर ९ शनिबार ०७:५१ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने बताएका छन् ।

आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको उल्लेख गरे ।

उनले कार्यकर्तादेखि लड्ने योद्धाहरु समेत भारतबाट पाएको बताए । उनले भारतमा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको बताए । भारतमा संगठन विस्तार गर्न राजनीतिक नेताहरुको भन्दा पाख्रिन जस्ता साँस्कृतिककर्मीहरुको भूमिका बढी महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले भने, ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो । भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौं । कार्यकर्ता प्राप्त गर्‍यौँ, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो ।’

उनले भने, ‘धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका रह्यो । त्यसो गर्नेमा राजनीतिक नेताहरुको भन्दा कमरेड खुशीराम पाख्रिन जस्ता सांस्कृतिककर्मीहरुको भूमिका बढी महत्वपूर्ण भयो । यसले निकै छिटो गतिमा नेपालीहरुलाई संगठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्‍यो ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७