इलाम–२ मा उपनिर्वाचन लड्ने एलिजाको चाहना, प्रचण्डसँग के गरिन् कुराकानी ?


१० मंसिर २०८०, आईतवार
alija gautam prachanda

काठमाडौं । अभिनेत्री तथा पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने मनस्थिति बनाएकी छन् । इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित एमाले नेता सुवास नेम्वाङको मृत्युपछि सो क्षेत्रमा उपनिर्वाचन हुने भएको हो । उक्त उपनिर्वाचनको लागि उम्मेदवार बन्ने तयारीमा रहेको गौतमले जानकारी दिइन् ।

उपनिर्वाचन लड्ने तयारी गरेकी एलिजाले शनिबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् । सरकारी निवास बालुवाटारमा प्रचण्ड र एलिजाबीच एक घण्टा कुराकानी भएको हो । प्रचण्डसँगको भेटमा एलिजाले आगामी दिनमा आफू सक्रिय राजनीतिमा आउने बताएकी थिइन् । प्रचण्डले पनि त्यसको शुभकामना दिँदै युवाहरू राजनीतिमा आउने कुरालाई स्वागत गर्नुपर्ने बताएका थिए ।

‘तपाई जत्तिको व्यक्ति सक्रिय राजनीतिमा आउने कुरा राम्रो हो उहाँले प्रोत्साहन गर्नु भयो ’ एलिजाले नेपाल सुनाइन््, ‘युवाप्रतिको प्रधानमन्त्री बुझाइ देखेर उत्साहित भए ।’ करिब एक घण्टाको संवादमा आफू राजनीतिमा सक्रिय आउने बिषय, वर्तमान अवस्थामा छलफल भएको उनले बताइन् । उपनिर्वाचनमा लड्ने मनस्थिति बनाइसकेको बेला माओवादी केन्द्रबाटै निर्वाचन लड्ने गरि टिकट माग्न आफू प्रधानमन्त्रीलाई भेट्न भने नगएको उनले स्पष्ट पारिन् ।

‘देशको अवस्था यस्तो छ । अहिले चुवानमा लड्ने कुरा गर्ने कुरा भएन ’ उनले भनिन्, ‘उहाँसँग समसामायीक बिषयमा कुरा भयो तर, इलाम–२ बाट चुनाव लड्ने मेरो तयारी र माओवादीको साथ चाहिएको भन्ने बिषयमा छलफल भएन । ’
असार २१ गते सक्रिय राजनीति नगर्ने घोषणा गरेकी एलिजा गौतमले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्नु अघि एमाले अध्यक्ष केपी शर्मा ओली, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र धरानका मेयर हर्क साम्पाङलाई भेटिसकेकी छन् ।

हर्कलाई भेटेकै दिन फेसबुकमा स्ट्याटस लेख्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी थिइन् । त्यसपछि उनी साउन २८ गते एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । उनले ओलीलाई ‘बुवा’ सम्बोधन गर्दै राजनीति र समाजसेवा गर्ने चाहना र हुटहुटीमा मलजल पुगेको बताएकी थिइन् ।

माघ १४ गते एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् । त्यसको केही महिना पछि उनले राजीनामा दिएर आफू स्वतन्त्र रहेको सार्वजनिक गरिन् । त्यसपछि भदौ २७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटिन् । उनीहरु बिच करिब २० मिनेट संवाद गरेकी थिइन् । उनले अहिले उपनिर्वाचन लड्ने मनस्थिति बनाएको र त्यसका लागि पार्टीहरूको नीति र विधि बुझ्दै गरेको बताइन् । ‘म कुनै न कुनै पार्टीमा जान्छु ’ उनले भनिन्, ‘उपनिर्वाचन म पार्टीबाटै लड्छु । कुन पार्टी राम्रो हो भन्ने बिषयमा म अहिले बुझी रहेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७