३६ कलाकारको क्यान्भासमा उपत्यकाका सम्पदा


२०८० मङ्सिर १० आइतबार ०८:०७ बजे

काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा शनिबार काठमाडौँ उपत्यकाका सम्पदासम्बन्धी सिर्जना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सिर्जनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी लोभिए ।

उनीहरुले रुचिपूर्वक चित्र अवलोकन गरे । मुख्यगरी काठमाडौँको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एबं मौलिक पहिचान बोकेका सिर्जना प्रदर्शनी गरिएको थियो । काठमाडौँको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए । कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि प्रदर्शनी गरिएको बताए ।

नेपाल सम्वतका अवसरमा नेकपा (एमाले) ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सामन्य प्रदर्शनी भएका कला सिर्जनामध्ये अधिकांश बिक्री पनि भएको उनले बताए । यहाँ राखिएका सिर्जना कम्तीमा रु १० हजारदेखि रु ५० हजारसम्ममा बिक्री भएको उनको भनाइ छ । प्रदर्शनीको केही घण्टामै सिर्जना बिक्री हुँदा आफूहरु निक्कै खुसी भएको कलाकार दीपेन्द्रमान बनेपालीले बताए ।

प्रदर्शनीमा अग्रज कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले अर्धअमूर्त चित्र बनाएका थिए । केही कलाकारले अमूर्त र केही कलाकारले दृष्यचित्र समेत उतारेका थिए । अधिकांश सिर्जनामा उपत्यका र आसपासका दृष्य कैद भएको थियो । जलरङ, एक्रेलिकलगायत विभिन्न माध्यमको प्रयोग गरी सिर्जना गरिएका चित्रले नेपालको मौलिक पहिचान प्रस्तुत गरेको कलाकार डिबी राईले बताए ।

प्रदर्शनीमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, पूर्वकुलपति कान्छाकुमार कर्माचार्य कलाकार एनवी गुरुङ, भीम श्रेष्ठ, डिबी राई, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, राकेश श्रेष्ठ, उत्तम डङ्गोल, विजय थापा, सुष्माराज भण्डारी, धनु याख्खा, विपना महर्जनलगायत ३६ कलाकारका सिर्जना प्रदर्शन गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७