इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान


२०८० मङ्सिर १० आइतबार ०७:४७ बजे

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर आज (आइतबार) बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन् । इन्टरपोलको ९१औं महासभामा सहभागी हुन उनीलगायतको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त महासभा इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएका छन् ।

इन्टरपोलको १००औं वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् ।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका अध्यक्ष र महासचिव बिच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत छ ।

यसैगरी, इन्टरपोलको ग्लोबल आउटरिच एन्ड रिजनल सर्पोटका प्रतिनिधिहरू तथा मित्रराष्ट्रहरू भारत, चीन र युएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम छ । महानिरीक्षक बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७