‘इपिसेन्टर जाजरकोट-रुकुमपश्चिम’ : जति गयो उतै भेटिन्छन् काम गरिरहेका एमालेका ‘टुकडी’


२०८० मङ्सिर १० आइतबार १०:२५ बजे

जाजरकोट : नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेल ४ मंसिर २०८० देखि जाजरकोट र रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा छन् । विपत व्यवस्थापन स्वयमसेवक विभाग प्रमुख समेत रहेका पौडेल भूकम्पपीडितहरुको पुनःस्थापना र पुनर्निर्माण सहयोगमा पार्टीको तर्फबाट केन्द्रीय संयोजकको जिम्मेवारी लिएर खटिएका छन् ।

पौडेल बिहान ६ बजेदेखि राति अबेरसम्म जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानहरुमा दौडिरहन्छन् । एमालेले परिचालन गरेको ११ सय स्वयमसेवकमध्ये जाजरकोटमा १२ समूह र रुकुमपश्चिममा १३ समूहले पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेका छन् । एउटा समूहमा ४० जना स्वयमसेवक परिचालित छन् ।

ती स्थानहरुमा आवश्यक निर्माण सामग्री, स्वयमसेवकहरुले कामको क्रममा लगाउने सुरक्षा सामग्री, कपडा लगायतको व्यवस्थापनको काममा पौडेल खटिरहेका छन् । नेता पौडेलले भने, ‘एउटा डाँडादेखि अर्को डाँडा जानुपर्छ, तर, परपर डाँडासम्म एमालेका स्वयमसेवकहरुले लाइनबद्ध काम गरिरहेको देख्दा बढो आनन्द र गर्व लाग्छ ।’

गत १७ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुमपश्चिमका अधिकांश नागरिक घर बाहिर छन् । उनीहरुको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न एमाले केन्द्रीय टोलीले ४ मंसिरदेखि काम गरिरहेको छ ।

पौडेलका अनुसार एमाले टोलीले स्थानीय सरकार र स्थानीय पार्टी कमिटीले छनोट गरे अनुसार अति प्रभावित क्षेत्रमा भत्किएका घरहरुको भग्नावशेष हटाएर अस्थायी टहरा बनाउने काम गरिरहेका छन् । स्थानीय पत्रकार भरत शर्माले प्रभावित क्षेत्रमा एमालेका स्वयमसेवकहरुले धमाधम काम गरिरहेको बताए । उनले भने, ‘अहिले एमाले जति जाजरकोट र रुकुमपश्चिमतिर सबै आए जस्तो लाग्छ, जता गयो उतै ड्रेस लगाएर काम गरिरहेका एमाले स्वयमसेवकहरु भेटिन्छन् । रहर लाग्दो दृश्य देखिन्छ ।’

२५ जनाको समूहमा पनि अलग–अलग ‘टुकडी’ बनाएर स्वयमसेवकहरु खटिने गरेका छन् । जाजरकोट नै घर भएका एमाले केन्द्रीय सदस्य निरज आचार्यकाअनुसार एमालेले प्रभावित क्षेत्रमा खटाएका ११ सय स्वयमसेवक जाजरकोटको भेरी, नलगाड, कुशे र बारेकोट तथा रुकुमपश्चिमका आठबिसकोट, चौरजहारी र सानीभेरीका अति जोखिमका बस्तीहरुमा पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार आचार्य भूकम्प गए यता आफै स्वयमसेवक भएर खटिरहेका छन् । एमालेका स्वयमसेवकहरुको टोलीसँग समन्वय गरेर खटिरहेका छन् । आचार्य भन्छन्, ‘भूकम्प गएको १७ कात्तिक यता हामी निरन्तर फिल्डमा खटिरहेका छौं ।’

जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्तिसहितको स्वयंसेवकहरूको टोलीले प्रभावित क्षेत्रमा काम गरिरहेका छन् ।

संयोजक पौडेलका अनुसार शनिबारसम्ममा जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान संकलन गरिएको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण गरिएको पौडेलेले बताए ।

जिफण्टको स्वयंसेवक टोली जाजरकोटमा मंसिर १ गतेदेखि नै भग्नावशेष हटाउन र भत्केका घरभित्र पुरिएका सामान निकाली व्यवस्थापन गर्न खटिइरहेको छ । केन्द्रीय सदस्य आचार्यका अनुसार स्वयंसेवकहरूलाई प्रभावित बस्तीको आधारमा विभिन्न २८ वटा समूहमा विभाजन गरिएको छ । जसअनुसार भेरी नगरपालिका–३ माथिल्लो थाप्ले क्षेत्रमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा काम भइरहेको छ ।

भग्नावशेष हटाउने क्रममा एमाले नेता निरज आचार्य

त्यसैगरी पिपलडाँडा क्षेत्रमा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष क्षनारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा अनेरास्ववियुको समूह परिचालन भएकोे छ । पार्टी केन्द्रीय सदस्य तथा विपद व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेल, केन्द्रीय सदस्य निरज आचार्यलगायतको समूहले भेरी नगरपालिका १ रिम्नाबाट काम सुरु गरेको छ । मोहन बडुवा नेतृत्वको प्रदेश कमिटीको समूहले पनि रिम्नामै काम गरिरहेको छ ।

भेरी नगरपालिका– १ रावतगाउँ, पिपे, मैदे, चौर, रिम्ना, नलगाड नगरपालिका–१ को चिउरी, पालि, कल्पत वडा नं. ३ को कट्के, करुवा, चाउलेचौर, टट्टा वडा नं. ५ को ऐरारी, चारगाउँ वडा नं. ६ को थाप्ला, चारगाउँ वडा नं. ७ को चामखेतलगायतका क्षेत्रमा विभिन्न समूह खटिएका छन् ।

अस्थायी टहरा निर्माण गर्दै संयोजक किरण पौडेलको समूह

त्यसैगरी इपिसेन्टरको रूपमा रहेको बारेकोट गाउँपालिकाको सिर्पाचौर, लिम्सा, बयाला, काउली, रामिडाँडा, जिरीलगायतका ठाउँमा छुट्टाछुट्टै समूह बनाएर पहिलो चरणमा जोखिममा रहेका संरचनाको भग्नावशेष हटाउने काम भइरहेको संयोजक पौडेलले बताए ।

उनका अनुसार कुशे गाउँपलिका र जुनिचाँदे गाउँपालिकामा भोलिसम्ममा स्वयंसेवक पुग्नेछन् । नेकपा (एमाले) को गत कात्तिक २२ गते बसेको २५औं सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउन र अस्थायी घरटहरा बनाउन श्रमदान गर्ने निर्णय गरेको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पमा पनि नेकपा (एमाले) ले स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घरटहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७