प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी : कर्मचारीको छात्रवृत्ति छोरीलाई दिलाएको आरोप


१० मंसिर २०८०, आईतवार
bharatraj paudel

काठमाडौं । क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ । अहिले परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि संसदीय सुनुवाई समितिले राजदूतमा सिफारिस भएका उनीमाथि छानबिन थाल्दै उनको नियुक्तिविरुद्व उजुरीका लागि सार्वजनिक आव्हान गरेको थियो । पौड्यालविरुद्व सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोपसहित उजुरी परेको छ । समितिकाअनुसार पौड्याल राजदूत पदका लागि अनुपयुक्त रहेको र उनले सरकारका कर्मचारीका लागि प्राप्त हुने छात्रवृत्ति कर्मचारीलाई नदिएर आफ्नै छोरीलाई दिलाएको भन्दै उजुरीहरु परेका छन् ।

उनले त्यस्तो छात्रवृत्तिमा आफ्नी छोरीलाई स्वीटजरल्याण्ड पठाएर आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै दूतावासका कर्मचारीमार्फत् त्यहाँका कर्मचारीकै आवास गृहमा राखेर छोरीलाई पढाएको समेत आरोप लागेको छ । समितिमा परेका उजुरीहरुमा पौड्यालविरुद्व खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैं जाने र भत्ता आर्जन गर्ने गरेको आरोपसमेत लगाइएको छ ।

त्यस्तै, उज्वलकृष्ण श्रेष्ठले पौड्यालविरुद्व दिएको अर्को उजुरीमा परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै पौड्याललाई राजदूत नियुक्तिको मापदण्ड र प्रक्रियाविपरीत व्यापक लापरवाहीपूर्ण ढंगले राजदूत नियुक्त गरिएको भन्दै सो निर्णय फिर्ता लिनुपर्ने माग गरिएको छ । पौड्याल यही २० मंसिरमा सेवाबाट अवकाश पाउँदैछन् । उनको नियुक्तिका विषयमा आइतबार संसदीय सुनुवाई समितिले सुनुवाई गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७