स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. केसीको माग


१० मंसिर २०८०, आईतवार
Mohan basnet dr

काठमाडौं । चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । मन्त्री बस्नेतले डा. केसीले माफियासँग मिलेर आन्दोलन गरेको हिजो एक कार्यक्रममा आरोप लगाएका थिए ।

आज विज्ञप्ति निकालेर डा. केसीले भनेका छन्, ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ । ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन् भन्न चाहन्छु ।’

आफू गुणस्तरीय, निशुल्क, सस्तो शुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि संघर्षरत रहेको डा. केसीले स्पष्ट पारेका छन् । ‘सीटीईभीटी अन्तरगत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर संचालन गरेका राजनीतिक माफिया कार्यकर्ताहरूको नर्सिङ लगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कलेज तथा शिक्षालयहरूलाई सम्बन्धन र संचालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, संसदीय स्वास्थ्य तथा शिक्षा समितिका सांसदहरू र माफियाहरू तथ्यहीन हल्ला फैलाएर जन मानसमा गलत धारणा स्थापित गरी दबाब सिर्जना गर्ने दुष्प्रयास गरिरहेका छन् । माफियाहरूको तर्फबाट स्वास्थमन्त्रीको यो थप नयाँ प्रयास हो,’ उनले भनेका छन् ।

पद सम्हालेयता स्वास्थ्यमन्त्रीले मर्यादा विपरीतका क्रियाकलाप गरिरहेको आरोप डा. केसीले लगाएका छन् । ‘सुरुदेखि नै स्वास्थ्यमन्त्री माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित् सरकारी निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन् । मन्त्रीको बुझ्ने क्षमता छ भने के बुझ्नुपर्छ भने अहिले नेपालमा राणातन्त्र वा पंचायततन्त्र छैन । लोकतन्त्र आएको तीन दशकभन्दा बेसी भइसक्यो तसर्थ प्रजातान्त्रिक मूल्य मान्यतामा चल्न सक्नुपर्छ । गैर लोकतान्त्रिक क्रियायाकलाप गरे जवाफदेही बन्नुपर्छ नत्र प्रचण्ड जी जवाफदेही बन्नुपर्छ,’ उनले भने ।

डा. केसीले स्वास्थ मन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन् । ‘स्वास्थ्यमन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्बोधन गर्नु परम कर्तव्य बन्थ्यो तर मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत संचालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानूनी र खेदपूर्ण कार्य हो । यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्ड जीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यता को बरखिलाफ हो । निजलाई तत्काल पदमुक्त गरियोस् ,’ डा. केसीले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७