दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता


२०८० मङ्सिर १० आइतबार ०७:१८ बजे

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन् ।

शुक्रबार प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर प्रसाईंलाई प्रशासनले नजरबन्दमुक्त गरिसकेकाले आफूहरुले निवेदन फिर्ता लिएको भण्डारीले जानकारी दिए । ‘सरकारले उहाँलाई छाडिसक्यो, त्यसो भएकाले अब बन्दीसम्बन्धी रिटको प्रयोजन समाप्त भएकाले आज निवेदन दिएर फिर्ता लिइसक्यौँ’, वरिष्ठ अधिवक्ता भण्डारीले भने ।

गत शुक्रबार काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएपछि दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरी आफूलाई घरमै नजरबन्दमा राखेको दाबी गरेका थिए । अघिल्लो दिन मंसिर ७ गते बल्खुमा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गर्दा युवा संघसँग झडप भएको थियो ।

त्यस दिन व्यापक मात्रामा प्रहरी परिचालन गरी अप्रिय घटना हुनबाट जोगाइएको थियो । तर सोही दिन साँझ पत्रकार सम्मेलन गरी प्रसाईंले भोलि (मंसिर ८ गते) देखि तीनकुनेमा निरन्तर विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले प्रसाईंका गतिविधि सामाजिक सद्भाव बिथोल्ने र हिंसा भड्काउने खालको भएको दाबी गर्दै तीनकुनेमा कार्यक्रम गर्न रोक लगाएको थियो । त्यसपछि प्रसाईंको समूहले गौशालानजिक सिफल चौरमा गएर सभा गरेको थियो । हिजो शनिबार दुर्गा प्रसाईंले पनि सभालाई सम्बोधन गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७