पक्राउ गरिएका व्यक्तिलाई बीच बाटोबाटै बेपत्ता बनाउने दुई प्रहरी कारागार चलान


२०८० मङ्सिर १० आइतबार ११:४४ बजे

रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत दुई जना प्रहरी कारागार (जेल) चलान भएका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय छिरिङ तामाङलाई बेपत्ता बनाएको आरोपमा प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू जेल चलान भएका हुन् ।

कुटपिटको आरोप लागेका तामाङलाई पक्राउ गरेर कार्यालयमा ल्याउँदै गर्दा बीच बाटोबाटै बेपत्ता बनाएको उनीहरूमाथि आरोप लागेको छ । सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको सो मुद्दामा पछि ठहरेबमोजिम हुनेगरी हाललाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएको थियो ।

अदालतले दुवैलाई जनही छ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकोमा धरौटी तिर्न नसक्दा उनीहरूलाई कारागार चलान गरिएको हो । तामाङलाई बेपत्ता बनाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य दुई जना भने धरौटीमा रिहा भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरिङ तामाङले पाँच लाख र दावा ग्याल्जेन तामाङले तीन लाख धरौटीमा तिरेर रिहा भएका हुन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

प्रहरीको अनुरोधमा उर्केनले थुमनबाट धुञ्चे जानका लागि गाउँमा सवारीसाधनको व्यवस्था गरिदिएको र दावा ग्याल्जेनले मोटर साइकलमा राखी धुञ्चे ल्याउँदा तार्सा भन्ने गाउँतल भीरबाट भोटेकोसीतर्फ भागेर हामफालेको प्रहरीको बयान दिएका थिए ।
उनीहरूबाटै बेपत्ता पारिएको हो भन्ने तत्काल यथेष्ठ प्रमाण र आधार नहुँदा लामो बहस र छलफलबाट पछि ठहरेबमोजिम फैसला हुनेगरी हाललाई धरौटी जमानतमा छोड्ने आदेश जारी भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिइन् । सो मुद्दामा बहस चलिरहेको समयमा पीडिततर्फका केही व्यक्तिले अदालतमा ढुंगामुडा गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७