चीनमा नयाँ भाइरस फैलिन थालेपछि भारतले जारी गर्‍यो ‘एडभाइजरी’


२०८० मङ्सिर १० आइतबार १०:४९ बजे

नयाँदिल्ली । चीनमा रहस्यमय बिरामी फैलिएपछि भारत सरकारले राज्य र केन्द्र सरकारद्वारा शासन गरिएका देशहरुमा एडभाइजरी जारी गरेको छ । भारतको स्वास्थ्य मन्त्रालयले राज्य र केन्द्रबाट शासित प्रदेशसँग पब्लिक हेल्थ व्यवस्थाको अपडेट गर्नका लागि भनेको छ । त्यस्तै कुनै ठूलै संक्रमण फैलन सक्ने तयारी गर्न पनि अस्पताललाई भनिएको छ । एडभाइजरीका अनुसार अस्पतालका कर्मचारी, बेड, जरुरी औषधि, अक्सिजन, एन्टिबोयोटिक, पीपीई, टेस्टिङ किटको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

त्यस्तै अस्पतालहरुलाई अक्सिजन प्लान्ट र भेन्टिलेटरले राम्रो काम गरेको छ कि छैन परीक्षण गर्न भनिएको छ । संक्रमण फैलनका लागि रोक्न बनाएको इन्फेक्सन कन्ट्रोल प्रोटोकलको पनि समीक्षा गर्न जरुरी भएको एडभाइजरीमा भनिएको छ ।
चीनमा श्वासप्रश्वाससँग जोडिएको निमोनियाँ जस्तै हुने एक प्रकारको भाइरसको संक्रमण फैलिएको छ । यसबाट बालबालिका धेरै प्रभावित हुने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विश्व स्वास्थ्य संगठनले उक्त संक्रमणको बारेमा धेरै सूचना उपलब्ध गराउन समेत चीन सरकारलाई भनेको छ । चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको संख्या तीव्र गतिमा बढिरहेको छ ।

नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को चिन्ता बढाइ दिएको छ । यो रोग खासगरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ । यो महामारी निमोनियासँग मिल्दोजुल्दो भएको बताइएको छ । तर यसको कयौँ लक्षणहरू निमोनियाभन्दा अलग छ । यसको चपेटामा आएका बच्चाको फोक्सो सुन्निएको छ । उच्च ज्वरो, खोकी, रुघा र श्वास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ ।

रहस्यमय निमोनियाका अधिकांश बिरामी चीनको उत्तरपूर्वी बेइजिङ र लियाओनिङ लगायत शहरहरूमा उपचाररत छन् । रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ । यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको हो । कोभिडबारे पनि सुरुमा यही संस्थाले अलर्ट जारी गरेको थियो । यो रोगको प्रकोप कहिलेदेखि सुरु भयो भनेर स्पष्ट नभएको संस्थाले बताएको छ । बच्चाहरूबाट रोग वयस्कमा सरेको पनि नभेटिएको प्रोमेड अलर्टले बताएको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७