हमासद्वारा बन्धकको तेस्रो समूह रिहा : किन छुटेनन् अझै नेपालका विपिन ?


२०८० मङ्सिर ११ सोमबार ०८:०७ बजे

काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धविरामको तेस्रो दिन आइतबार १७ जना बन्धकलाई रिहा गरेको छ । आइतबार राति १३ इजरायली, तीन थाई र एक अमेरिकी बालिकासहित १७ बन्धकलाई रिहा गरेको अलजजिराले जनाएको छ । त्यसको बदलामा इजरायलले ४९ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

तेस्रो चरणसम्म बन्धक रिहा भइसक्दा पनि नेपालका विपिन जोशी भने अझै छुटेका छैनन् । १७ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका कञ्चनपुरका विपिन रिहा हुनेबारे कुनै जानकारी नभएको इजरायलको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।

केही दिनअघि इजरायली सेनालाई उद्धृत गर्दै दूतावासले विपिन जोशी हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो । तर उनको रिहाइको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालय तथा दूतावासले केही जानकारी दिएको छैन । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले विपिन रिहा हुनेबारे दूतावासलाई कुनै खबर नआएको बताए ।

दोस्रो चरणमा शनिबार राति हमासले १३ जना इजरायली र ४ जना थाई नागरिकलाई रिहा गरेको थियो । यसअघि पहिलो चरणमा शुक्रबार १३ इजरायली, १० थाई र एक फिलिपिनी नागरिकलाई हमासले रिहा गरेको थियो । कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेबर संख्यामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७