रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु, मृत्तकको संख्या १४ पुग्यो


२०८० मङ्सिर ११ सोमबार ०७:२७ बजे

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा यसअघि नै १३ जनाले ज्यान गुमाइसकेका छन् । १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि पुगेका भूकम्पपीडित मंसिरको चिसोका कारण झन् समस्यामा परेका हुन् । सम्बन्धित स्थानीय तहबाट प्राप्त तथ्यांकअनुसार यसअघि जाजरकोटमा ११ र रुकुम पश्चिममा दुई जनाले ज्यान गुमाइसकेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ११ का ८० वर्षीया पद्मी ओली र ७० वर्षीय दत्ते कामीको मृत्यु भएको वडाध्यक्ष प्रेमबहादुर पुनले पुष्टि गरे । पद्मीको ५ मंसिर र दत्तेको ३० कात्तिकमा मृत्यु भए पनि ढिलो गरी घटना सार्वजनिक भएको थियो ।

वडाध्यक्ष पुनका अनुसार ज्यान गुमाउने दुवै दमका रोगी थिए । ‘न्यानोमा बस्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरू मंसिरको चिसोमा पालमुनि बस्नुपर्दा समस्यामा पर्नुभएको छ,’ उनले भने, ‘अहिलेसम्म दुईजनाको ज्यान गइसक्यो । वडामा धेरै व्यक्ति बिरामी छन् ।’

चिसोका कारण जाजरकोटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुशे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षका गथु शाहीको ज्यान गएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।

भूकम्पपीडितमा रुघाखोकी, ज्वरो र पखलाको समस्या
भूकम्पपीडितमा रुघाखोकी, ज्वरो र पखलाको समस्या देखिएको छ । रुकुम पश्चिमको आठबिसकोटले ११ ठाउँमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पनि रुघाखोकी, ज्वरो र पखलाका बिरामी धेरै आइरहेको नगर स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायाले जानकारी दिए । चिसोका कारण बिरामी परेकामा दूषित पानीका कारण पखला समेत देखिएको उनले बताए ।

चिसोबाट जोगिन र उमालेको पानी पिउन अनुरोधका लागि भूकम्प प्रभावित क्षेत्रमा सचेतनामूलक माइकिङ गर्ने तयारी गरिएको रोकायाले बताए । उनका अनुसार नगरपालिका– १४ का ज्यामिरकोट र पिपलचौर, १३ का गाउँबारी र भल्मा, १२ का ठूलीबार्खु र सानीबार्खु, ११ का गत्तसैना र गोइरी, १० का घारीखोला र झिन्चौर तथा वडा नम्बर ९ को सुन्दरपानीमा शिविर सञ्चालन गरेको छ ।

आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले भूकम्प प्रभावितलाई चिसोबाट जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताए । ‘हाम्रो क्षमताले भ्याएसम्म स्वास्थ्यकर्मी परिचालन, औषधि उपचारदेखि भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन न्यानो कपडाको प्रबन्धलगायत प्रयास गरिरहेका छौँ,’ केसीले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७