मान्छे मारेको बाघ समाउँदा छेउमै भेटियो आधा भाग मात्र रहेको अर्को शव


११ मंसिर २०८०, सोमबार
tiger

मकवानपुर । मान्छे मारेको बाघलाई नियन्त्रण गर्न गएको चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघले खाएको अर्को शव पनि फेला पारेको छ । बाघले शुक्रबार बिहान पौने १० बजेतिर राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेललाई आक्रमण गरेर ज्यान लिएको थियो ।

आइतबार मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मान्छे मार्ने बाघ आइतबार राति पौने ९ बजेतिर नियन्त्रणमा आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । बाघको आडैमा अर्को शव पनि भेटिएको हो ।

उनका अनुसार उक्त स्थानमा गत मंसिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली चार वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो । सो क्रममा पहिचान नखुलेको एक पुरुषको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । ती पुरुषको शव हाल हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७