इतिहासको चक्का अग्रगमनतिरै बढ्छ, पछाडि फर्किदैन : प्रधानमन्त्री (तस्वीरहरु)


२०८० मङ्सिर ११ सोमबार ०७:१६ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताएका छन् । उनले इतिहास पछाडि नफर्किने समेत स्पष्ट पारेका छन् ।

छैठौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सोमबार उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख राज्यव्यवस्थाविरुद्ध भ्रम फैलाउने र अराजकता फैलाउने प्रयास भएका छन् । इतिहासको चक्कालाई पछाडि धकेल्ने कोशिस देखिएका छन् । तथ्य के हो भने इतिहास अग्रगमनतिरै अगाडि बढ्छ, पछाडि फर्किदैन ।’

मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘यो परिवर्तनका वाहक दल, नेता, संघसंस्था, बुद्धिजिवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ ।’

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले पहल लिइराखेको पनि बताए । उनले अर्थतन्त्रमा देखिएका तमाम समस्या हल गर्न राजनीतिक दल, अर्थविद्, निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गरिएको बताए । उनले भने, ‘लघुवित्त, सहकारी, बैंक ब्याजसँग सम्बन्धित अन्य तमाम समस्याहरू सहजीकरण गर्दै अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु । हिजो मात्रै सुकुम्बासी, स्वबासी र अव्यवस्स्थित बसोबासको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाउन सर्कुलर गरेको छु ।’

कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेको समेत बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७