जलेश्वरमा रास्वपाको पहिलो दिन : सांसदहरूले बुझाए कार्य प्रगति विवरण र भावि योजना


२०८० मङ्सिर ११ सोमबार ११:५१ बजे

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । महोत्तरीको जलेश्वरमा जारी बैठकको पहिलो दिन आज (सोमबार) सांसदहरूले एक वर्षमा आफूले गरेको कामको प्रगति विवरण र आगामी योजना प्रस्तुत गरेका छन् ।

‘सांसदहरू बोल्ने क्रम जारी छ,’ प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । प्रत्येक सांसदलाई बोल्नका लागि ७ मिनेटको समय दिइएको छ । आजको बैठकमा प्रदेश सभापतिहरूले पनि प्रदेशको प्रतिवेदन प्रस्तुत गरेका छन् । केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पनि आजको बैठकमा पेस हुने प्रवक्ता ढकालले बताएका छन् ।

रास्वपाको यो बैठक पार्टीका लागि अहिलेसम्मकै महत्वपूर्ण भएको नेताहरूको दाबी छ । ‘पार्टीको जीवनकालमा अहिलेसम्मकै महत्वपूर्ण बैठक हो । यसले पार्टीको नीति र विचारको विषयमा निर्णय गर्छ,’ प्रवक्ता डा. मुकुल ढकालले भने, ‘वैचारिक स्पष्टता यो बैठकले गर्छ । दस्तावेजको जिस्ट आउँछ । तर, व्याख्यापछि गर्छौं । यो बैठकले पार्टीको लाइन स्पष्ट पार्छ ।’

बैठकले पार्टीको महाधिवेशनबारे निर्णय लिनेछ । रास्वपाको विधानअनुसार मंसिरबाट महाधिवेशन प्रक्रिया सुरु हुनेछ । ‘वडाबाट सुरु हुन्छ, पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रको महाधिवेशन हुन्छ,’ प्रवक्ता ढकालले भने, ‘महाधिवेशनको प्रक्रियाबारे थप निर्णय बैठकले गर्नेछ ।’ बैठकमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र महामन्त्री ढकालले नीति विचार भोलिको बैठकमा पेस गर्नेछन् । बैठक १३ मंसिरसम्म चल्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७