टिकटक स्टार आयुष–एलिजेको जोडी राहत लिएर आज भूकम्प प्रभावित जाजरकोट जाँदै


१२ मंसिर २०८०, मंगलवार
aayush

काठमाडौँ । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे) को जोडी राहत लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएको छ ।

aayush 1

दुबईमा इन्गेजमेन्ट (टिकाटालो) सकेर गत बिहीबार नेपाल आइपुगेका उनीहरू राहत सामग्रीसहित आज (मंगलबार) भूकम्प प्रभावित क्षेत्र जाँदैछन् । उनीहरूले भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न लागेका हुन् । उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका १६५ घरधुरीलाई राहत सामग्री वितरण गर्ने तयारी छ । ‘जाजरकोट भूकम्कको केन्द्रबिन्दु रामीडाँडाका १६५ घरधुरीलाई करिब एक महिनाका लागि पुग्ने खाद्यान्नसहित उहाँहरू (एलिजे र आयुष) त्यसतर्फ जाँदै हुनुहुन्छ’, एक आफन्तले सुनाए ।

hq720

राहत प्याकेजमा उनीहरूले झण्डै २० लाख बराबरको रकम खर्च गरेका छन् । रामीडाँडाका १६५ घरधुरीमा वितरण गर्न १÷१ बोरा चामलसहित दाल, नुन, तेललगायतको प्याकेज तयार गरिएको छ । त्यस्तै ३ सय ५० विद्यार्थीलाई कापी, कलमलगायत स्टेसनरी सामग्री पनि वितरण गर्न लागिएको छ । विद्यार्थीहरूका लागि एक–एक सेट ट्र्याक सुटको पनि व्यवस्था गरिएको छ ।

कोही नपुगेको ठाउँमा जान चाहेको भन्दै उनीहरूले सबैभन्दा विकट ठाउँ रोजेका थिए । त्यहाँ राहत सामग्री लैजान उनीहरूले नेपालगन्जबाट ट्रकमा सामान लोड गरिसकेका छन् । राहत वितरण गरिने क्षेत्रसम्म ट्रक जान नसक्ने भएकाले ४ घण्टाको बाटोमा ट्रयाक्टरमा ओसारिनेछ ।

aayush 2

टिकटकबाटै जोडिएका एलिजे र आयुष केही समयदेखि प्रेम सम्बन्धमा थिए । गत असोज १९ गते उनीहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा इंगेजमेन्ट गरेका थिए । उनीहरूले आफ्नो इन्गजमेन्टका इभेन्टहरू टिकटकमार्फत् पनि सार्वजनिक गरेका थिए । उनीहरूको इन्गेजमेन्टले नेपालमा पनि चर्चा पाएको थियो । उनीहरूलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७