धावनमार्गमा स्याल देखिएपछि चन्द्रगढीमा बुद्ध एयरको जहाजले गर्‍यो ‘ओभरसुट’


१२ मंसिर २०८०, मंगलवार
Chandragadhi Airport

काठमाडौँ । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले सोमबार साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट गरेको हो ।

बुद्ध एयरको जहाज धावनमार्गमा अवतरणको अन्तिम चरणमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले जानकारी दिए । ‘काठमाडौँबाट आएको जहाज अवतरण गर्ने ‘फाइनल प्वाइन्ट’ मा आइसकेपछि धावनमार्गमा स्याल देखियो । हामीले सामान्यतया धावनमार्गमा स्याल, कुकर वा कुनै शङ्कास्पद वस्तु देखिएमा पहिला धावनमार्ग क्लियर गरेर मात्रै जहाज अवतरण गर्ने अनुमति दिन्छौँ । सोही प्रक्रिया गर्दा समय करिब १० मिनेटको समय लाग्ने भएकाले जहाजलाई ‘मिस अप्रोच’ गराएर सुरक्षित अवतरण गरिएको हो,’ उनले भने ।

रातिको समयमा इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भएकाले धावनमार्ग क्लियर गर्न लगाएर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो । धावनमार्गमा स्याल देखिएपछि विमानस्थलका ‘एयर ट्राफिक कन्ट्रोलर’ (एटिसी) ले मिस अप्रोच लागि विमान चालक (पाइलट)लाई अनुरोध गरेका थिए ।

मानिस र सवारीसाधनको सहायताले धावनमार्ग उडानयोग्य बनाइएको थियो । ‘रात्रिकालीन उडान भएकाले केही असहज भएको हो हामी सचेत छौँ, जहाज उडान तथा अवतरण गर्नुअघि विमानस्थलका कर्मचारीले धावनमार्गको चेकजाँच गरिँदै आएको छ । सुरक्षित उडानका लागि सबै जिम्मेवारपूर्वक लागेका छौँ’, सूचना अधिकारी खत्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७