काठमाडौँको स्पा सेन्टरबाट दुई बालिकासहित तीनको उद्धार, सञ्चालक दिनेश पौडेल पक्राउ


१२ मंसिर २०८०, मंगलवार
Spa Sanchalak

काठमाडौँ । रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखन भएको घटना बाहिर आएको छ ।
काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उक्त सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले नाबालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुका साथै उक्त स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको ब्यूरोले आज सार्वजनिक गरेको छ । उनीमाथि मानब बेचविखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ । पक्राउ प्रतिवादीले काठमाडौँको रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा उक्त स्पामा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्यूरोले जनाएको छ ।

स्पा सेन्टरमा काम गर्ने युवतीलाई मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको तथा नमानेमा शारीरिक तथा मानसिक यातनासमेत दिने गरेको खुलेको पङ्गेनीले बताए । पुरुषसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफूसँग सुरक्षित रहेको र भने अनुसार नगरेमा / नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने भनी डर त्रासमा पार्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ । उद्धार भएका युवतीमध्ये दुई जना नाबालिका रहेका छन् । युवतीलाई जबरजस्ती यौन व्यवसायमा लगाई निज स्पा सेन्टरका सञ्चालक पौडेलले आर्थिक लाभ लिने गरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७