पूर्वराजाका सचिव भन्छन्–प्रसाईको आन्दोलनबारे थाहा छैन

दुर्गाको दावी : पूर्व राजाले मलाई फोन गरेर ‘आई एप्रिसिएट यु, गो अ हेड’ भन्नुभयो


१२ मंसिर २०८०, मंगलवार
durga purbaraja 1200x560 1

काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रसाईले आफूलाई राजाले टेलिफोन गरेर ‘आइ एप्रिसिएट यु, गो अ हेड’ भनेको दावी गरेका छन् । ‘मेरो तपाईलाई सहयोग समर्थन छ,’ पूर्व राजाको भनाई उद्धृत गर्दै प्रसाईले भने, ‘राजपरिवारले त्यति विश्वास गर्नु मेरो लागि निकै ठूलो कुरा हो ।’ आफ्नो कार्यक्रम राजधानीमा रहेको समयमा पूर्वराजा राप्रपाको कार्यक्रमको लागि झापा गएको खबरप्रति पनि उनले कुनै गुनासो गरेनन् । ‘राजा सबैका साझा हुन्, जता गए पनि ठिकै छ,’ उनले भने, ‘यसमा मेरो केही गुनासो छैन ।’

durga prasain aandolan

दुर्गा प्रसाईले आफ्नो समूहको आन्दोलनप्रति पूर्व राजाको समर्थन रहेको दावी गरे पनि प्रसाईको महाअभियान राजसंस्था समर्थकहरूकै बीच सन्देह पैदा हुन थालेको छ । प्रसाईंका राजनीतिक एजेण्डाहरू स्पष्ट नरहेको र राजसंस्थाको नाममा आफ्नो स्वार्थ भजाउने प्रयास मात्र गरिएको आरोप खाँट्टी राजावादीहरूले लगाउन थालेका छन् ।

प्रसाईंको पृष्ठभूमि र राजनीतिक एजेण्डाको धरमरले गर्दा नै देशको प्रमुख राजावादी शक्ति राप्रपाले उनको अभियानलाई औपचारिकरूपमा खुलेर समर्थन गरेको छैन । यद्यपि पहिलो दिनको कार्यक्रममा राप्रपा कार्यकर्ताहरू स्वतस्फुर्तरूपमा सहभागी भएका थिए । राप्रपाका केही प्रभावशाली नेताहरू प्रसाईंलाई सघाउनुपर्ने पक्षमा रहे पनि अध्यक्ष राजेन्द्र लिङ्देन त्यसका लागि तयार भएनन् । लिङ्देन प्रसाईंलाई ‘बैंक ठग्नेले राजतन्त्र फर्काइदिन्छ भनेर पत्याउनुपर्ने ?’ भन्दै सार्वजनिक भाषण नै दिएका थिए ।

महाअभियान सुरू गर्नुअघि प्रसाईंले आफ्ना ८ वटा एजेण्डा प्रस्तुत गरेका थिए । त्यसमा राजसंस्थाको उच्चारण कतै पनि छैन । वैदिक सनातन धर्मसापेक्ष मुलुक स्थापनाका लागि आवाज उठाउने मात्र भनेका छन् । अन्य एजेण्डाहरु गैरराजनीतिक छन् । प्रसाईंको अभियानका सहप्रवक्ता राजानन्द मान्डव्यले केही दिनअघि मात्रै पत्रकार सम्मेलनमा आफूहरू व्यवस्था परिवर्तन नभएर अवस्था परिवर्तनका लागि लडिरहेको बताएका थिए ।

प्रसाईं स्वयम्ले पनि एक अन्तरवार्तामा गोलमटोल कुरा गरेका छन् । व्यवस्था परिवर्तन गर्ने कुरा गरेपछि प्रसाईंलाई एक पत्रकारले सोधेका थिए, गणतन्त्रको ठाउँमा कुन तन्त्र ल्याउने त ? प्रसाईंले जवाफ दिए ‘जनतन्त्र’ ल्याउने । गणतन्त्रमा राजा राखेपछि त्यो जनतन्त्र हुने उनको तर्क छ । तर, राजा कसलाई बनाउने भन्नेमा उनले उही कुरा दोहो¥याए, ‘यो देशमा राजा को हुन्छ, प्रधानमन्त्री को हुन्छ, मलाई थाहा छैन । तर, यो व्यवस्था परिवर्तन हुनुपर्छ ।’

प्रसाईंले खुलेर पूर्वराजा ज्ञानेन्द्रको नाम लिन नसक्नुको कारण हो, पूर्वराजा स्वयमले उनको आन्दोलनलाई बेवास्ता गर्नु । उनी खासमा पूर्वराजालाई नै सडकमा उतार्न चाहन्थे । तर, पूर्वराजा यसका लागि तयार नभएपछि उनी दुःखी बनेका छन् । अहिले आएर आफूले राजसंस्थाको समर्थनमा यति ठूलो आन्दोलन गर्दा पनि कुनै रेस्पोन्स नदिएर पूर्वराजा राप्रपाको कार्यक्रममा झापा गएपछि प्रसाईं थप असन्तुष्ट देखिएका छन् ।

यता, पूर्वराजाका संवाद सचिव फणिराज पाठकसँग प्रसाईं नेतृत्वको आन्दोलनका विषयमा प्रतिक्रिया माग्दा उनले कुनै जवाफ दिन चाहेनन् । ‘मलाई यो आन्दोलनका विषयमा केही पनि थाहा भएन । सडकमा को–को आन्दोलन गरिरहेका छन्, सबैलाई ध्यान दिएर साध्य पनि हुँदैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७