ओलीको पालामा बनेको सिंहदरबार कार्यालय प्रचण्डले गराए अवलोकन (तस्वीरहरु)


२०८० मङ्सिर १२ मंगलबार ०८:०० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिन अघिदेखि मात्र सञ्चालनमा आएको हो ।

आफ्नो पालामा नयाँ डिजाइनसहित पुनर्निर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले प्रधानमन्त्री प्रचण्डसँगै अवलोकन गरेका हुन् । मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदबार पुगेका ओलीलाई प्रचण्डले नयाँ कार्यकक्ष र कार्यालय भवन अवलोकन गराएका हुन् ।

ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन भने प्रचण्डले गरेका थिए । अहिले प्रधानमन्त्री कार्यालय त्यहिँबाट सञ्चालन भइरहेको छ । ओलीलाई मुख्य सचिव बैकुण्ठ अर्यालले ब्रिफिङ गरेका थिए । ओलीले बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’ सहितको उक्त भवन अवलोकन गरेका छन् ।

युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाएर आफ्नो निजी निवासका रूपमा सिंहदरबार बनाएका थिए । भूकम्पपछि यो भवन भत्काउने या मर्मत गर्ने विषयमा विवाद भएकाले पुनर्निर्माण कार्य रोकिएको थियो । तर, पुरातात्विक महत्व कायम हुनेगरी सिंहदरबारको प्रबलीकरणका लागि तत्कालीन प्रम ओलीले निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीसँग छलफल गरी बाहिरिए ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरी बाहिरिएका छन् । प्रधानमन्त्री निवास सिंहदरबारमा दुवैबीच पछिल्लो समसामयिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन जाँदै गर्दा त्यसअघि प्रमुख प्रतिपक्ष दलका नेतासँग छलफल गरेका हुन् ।

विशेष गरी पछिल्लो समय एकाएक सडकमा गणतन्त्रविरोधीहरु देखिन थालेपछि टाउको दुखाइको विषय बनेको छ । सोही विषय सँगसँगै अबको गन्तव्य सम्बन्धमा दुई नेताबीचको छलफल केन्द्रित भएको बुझिएको छ । यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७