सभापति देउवालाई व्यावसायीहरुले भैरहवा विमानस्थलमै घेरे


२०८० मङ्सिर १२ मंगलबार १०:३९ बजे

रुपन्देही । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग गर्दै रूपन्देहीका निजी क्षेत्रका व्यावसायीहरुले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

कांग्रेस रूपन्देहीको जिल्ला सम्मेलनमा भाग लिन मंगलवार भैरहवा आएका बेला विमानस्थलमै व्यवसायीहरूले देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै पूर्व प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको बताए ।

७ बुँदे ज्ञापन पत्र बुझाउँदै संघले विश्व सम्पदा सूचीमा रहेको गौतम बुद्धको जन्मस्थल नजिक रहेको विमानस्थल सञ्चालन हुन नसक्नु उद्योगी-व्यवसायी तथा सर्वसाधारणका लागि दुखःद् रहेको जनाएको छ । ‘राष्ट्रिय गौरवको आयोजना, लुम्बिनी प्रदेशको गहना, गौतम बुद्ध जन्मस्थल प्रवेशद्वारको रुपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण क्षमतामा सञ्चालनको लागि पहलकदमी लिनुस् भनेर भनेका छौं’ श्रेष्ठले भने ।

दुई वर्ष अघि देउवाले नै उद्घाटन गरेको विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । २०७९ जेठ २ गते विमानस्थल उद्घाटन भएको थियो । विमानस्थल नियमित सञ्चालनको लागि व्यवसायीहरूले विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएका छन् ।

राष्ट्रिय ध्वजावाहकले उडान शुरू नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलाइन्स कम्पनीहरू आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडान हुनुपर्ने, भैरहवा–मलेसिया मात्र नभई दिल्ली, कतारमा उडान शुरू गर्नुपर्ने, विश्वका सबै बुद्धिस्ट मुलुकलाई पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर उडानका लागि समन्वय गरिनुपर्ने व्यवसायीको माग छ । विमानस्थलमा यस क्षेत्रमा पर्यटन व्यवसायीको २५ अर्बभन्दा बढी लगानी गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७