एक साताभित्र मेलम्चीको पानी काठमाडौं नल्याए आन्दोलनको चेतावनी


१२ मंसिर २०८०, मंगलवार
Melamchi sundarijal

काठमाडौं । खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउने बताएका छन् ।
काठमाडौँवासीले मेलम्चीको पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ यो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका यादवले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग सकारात्मक छलफल भएको पनि बताए । उनले भने, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाण्डौवासीलाई पानी खुवाउँछौँ ।’

काठमाडौवासीले भने एक हप्ताभित्र मेलम्चीको पानीको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि पानी काठमाडाँै ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीको पानी एक हप्ताभित्र काठमाडौँ आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताए । उनका अनुसार ११ करोड ५० लाख ६६ हजार रुपैयाँ हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाण्डौ ल्याउने कुरामा हेलम्बुवासीले अवरोध नगरेको स्पष्ट पारे । मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि उनले सञ्चारकर्मीमाझ यो कुरा बताएका हुन् । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौताअनुसारको बजेट भने तत्काल व्यवस्था गर्न सरकारलाई दबाब दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७