रास्वपाले स्वर्णिमलाई बनाउँला उपसभापति ?


१२ मंसिर २०८०, मंगलवार
Rabi sarnim

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ ।

रास्वपाको विधानमा दुई उपसभापति रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार नै वैशाख १० को उपनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउन लागिएको एक नेताले जानकारी दिए । उनका अनुसार अहिले महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमै उनलाई उपसभापति बनाउने तयारी छ ।

त्यस्तै रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ । रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ । त्यसमा मोहनबहादुर थापाले ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन् । विधानको धारा २३ अनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सक्ने छ ।

त्यस्तै, विधानको धारा २५ मा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा सभापति १, उपसभापति २, महामन्त्री १, सहमहामन्त्री २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता १ रहने विधानमा व्यवस्था छ। अहिले रास्वपाको उपसभापति डोलप्रसाद अर्याल (डिपी) छन् । रास्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समिति छन् । सांसदमध्ये केहीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने रास्वपाको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७