भूकम्पपीडितको अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा


२०८० मङ्सिर १२ मंगलबार ०७:४७ बजे

रुकुमपश्चिम । रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाउने निर्णय गरेको हो । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८० (दोस्रो संम्शोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिए ।

उनका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने २५ हजार रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइने छ । अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने उनको भनाइ छ ।

भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले रु ५० हजार राहत उपलध गराउने निर्णय गरिसकेको छ । त्रिवेणी बाहेक अन्य पालिकाबाट कुन–कुन घर परिवारले रकम पाउने भन्ने विवरण नआइसकेकाले ती पालिकाका लागि रकम निकासा भने हुन सकेको छैन ।
चिसोले थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो
त्रिपालमा बस्दै आएका जाजरकोटका एक भूकम्पपीडितको चिसोका कारण ज्यान गएको छ । बारेकोट गाउँपालिका–७ सुवाकोटका ६५ वर्षीय हरियो दमाइको मंगलबार ज्यान गएको वडाध्यक्ष विशाल किरण बस्नेतले बताए ।

दुई वर्षअघि प्यारालाईसिस भएर थलिएका उनी भूकम्प घरमा क्षति पुर्‍याएपछि त्रिपालमा बस्दै आएका थिए । एक सातादेखि ज्वरो आउने र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका उनको मृत्यु भएको वडाध्यक्ष बस्नेतले बताए । उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दै गर्दा उनको ज्यान गएको बस्नेतले बताए । उनको मृत्युसँगै चिसोबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । चिसोले वृद्धवृद्धा, दीर्घरोगी, सुत्केरी, गर्भवती र बालबालिका बढी प्रभावित भएका छन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुममा गरी एक सय ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीका अनुसार जिल्लाभर ५ वर्षमुनिका १२ हजार ४ सय ४ बालबालिका प्रभावित छन् ।

यस्तै एक हजार ८ सय ८३ जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने एक हजार ७६ सुत्केरी प्रत्यक्ष प्रभावित भएका छन् । त्यस्तै ६ हजार २६ जेष्ठ नागरिक (७० वर्ष माथिका), एक हजार ८ सय ३२ दीर्घरोगी र ८ सय ५० अपांग गरी २२ हजार २ सय ६ जना प्रत्यक्ष प्रभावित भएका छन् ।

रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताए । उनका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन् । ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७