सिंहदरवारमा प्रचण्ड र ओलीबीच के-के भयो कुराकानी ?


१२ मंसिर २०८०, मंगलवार
Prachanda kp

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो ।

भेटमा आसन्न राष्ट्रियसभाको निर्वाचन र समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । उनीहरूबीच गणतन्त्रको विरोधमा आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंको गतिविधिबारे समेत छलफल भएको स्रोतको भनाइ छ । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेटवार्ता भएपछि राजनीतिक घटनाक्रमबारे कुरा हुने भइहाल्यो । तर, कुनै ठोस एजेण्डा केन्द्रित भएको होइन ।’

कोप–२८ मा सहभागी हुन युएई जानुअघि प्रधानमन्त्री दाहालले ओलीसँग छलफल गरेका हुन् । कोप–२८ मा नेपालले समेट्नु पर्ने एजेण्डाका विषयमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग सुझाव लिएका थिए । दुई नेताहरुबीचको भेटमा गणतन्त्रविरोधी पछिल्ला आन्दोलन, संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगोलगायतको विषयमा पनि छलफल भएको बताइन्छ ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैल्याउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७