कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाँदै, टोलीमा अरु को–को छन् ?


२०८० मङ्सिर १३ बुधबार १०:४३ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दैछन् । उनी बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् । सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ । प्रधानमन्त्री डिसेम्बर १–२ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् ।

डिसेम्बर २ मा उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औं ‘युनियन डे’ को अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन् । उनी यूएईले आयोजना गर्ने ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने मन्त्रालयले बताएको छ ।

सम्मेलनको ‘साइड लाइन’ मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्च पदस्थ व्यक्तिसँग वार्ता गर्नेछन् । प्रधानमन्त्रीले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । यस्तै नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । प्रचण्डसँग छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य सरकारी अधिकारी पनि यूएई जानेछन् । प्रधानमन्त्री मंसिर १७ गते स्वदेश फर्किने तय भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७