नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउने तयारी


२०८० मङ्सिर १३ बुधबार ०७:३५ बजे

काठमाडौं । उच्च अदालत पाटनमा बहस चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी पक्षले बहस सुरु गरेको छ । पुनरावेदन पक्षको बहस सकिएपछि उच्च सरकारी वकिलहरुले बहस थालेका हुन् ।

सह न्यायाधिवक्ता शंकर खत्रीको नेतृत्वमा ५ जना सरकारी वकिलहरुले हिजो चिया समयपछि बहस सुरु गरेका थिए । उक्त बहस बुधबार पनि निरन्तर रहेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताएका छन् । मंगलबार खाजा समयअघि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ । सोमबारबाट बहस सुरु गरेका रायमाझीका कानुन व्यवसायीले मंगलबारको खाजा ब्रेकअघि बहस सकाएका हुन् ।

मंगलबार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका तर्फबाट बहस भएको थियो । रायमाझीका तर्फको बहस सकिएसँगै अब ३ जना प्रतिवादीहरुको तर्फबाट बहस भएको थियो । रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिलहरुले जवाफ दिन सुरु गरेका थिए । सरकारी पक्षको बहस सकिएपछि निवेदक (प्रतिवादी) का कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहसपछि पुनरावेदन निवेदनको फैसला आउनेछ । उच्च अदालतका अनुसार सरकारी पक्षको आज बहस सकिएमा भोलि जवाफी बहस सकेर सम्भव भएसम्म निर्णय सुनाउने नत्र शुक्रबारसम्म सुनाउने तयारी गरेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौ रुपैयाँ ठगी गरेको पाइएपछि हाइप्रोफाइल व्यक्तिसहितलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । गत असार १ गते काठमाडौं जिल्ला अदालतले टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा र अन्य सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको सोही आदेशविरुद्ध प्रतिवादीहरु उच्च गएका थिए । उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७