एनसेलको विदेशी लगानीकर्ता ‘आजियाटा’ द्वारा नेपालबाट बाहिरिने घोषणा


१३ मंसिर २०८०, बुधबार
ncell a

काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको छ । नेपालको परिस्थिति चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले जनाएको छ ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने भएसँगै कम्पनीको ८० प्रतिशत शेयर बिक्रीको प्रक्रिया थालेको बताएका छन् । ‘हामीलाई विश्वास छ कि यो कदम आजियाटालाई आफ्ना रणनीतिक प्राथमिकता पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने छ’, उनले भनेका छन्, ‘यो कदम हाम्रा सबै लगानीकर्ताको दीर्घकालीन हितमा पनि छ ।’

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी २० प्रतिशत शेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।

नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो । सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । एनसेलले सन् २०२१/२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२०/२१ मा एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७