सिरहामा दुई महिलाको हत्या, श्रीमान र ससुरा पक्राउ


२०८० मङ्सिर १३ बुधबार ०७:१६ बजे

सिरहा । सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक पनि गरेको छ ।

उक्त हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका–१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका–८ बड्की टोलका ५१ वर्षीय रामअशिष दासलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको हो । यादवविरूद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरूद्ध बुहारीलाई बञ्चरो प्रहारी गरी हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार मंसिर ७ गते राति १० बजे बाँसको भाटा र इँटा प्रहार गरी यादवले ३० वर्षीया श्रीमती सञ्जितालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटबाट उनको घरमै मृत्यु भए पनि संजितालाई उपचार गराउन भन्दै यादवले भारतको जयनगरतर्फ लगेका थिए ।

भोलिपल्ट छिमेकीले सूचना दिएपछि ८ मंसिरको बिहान सुखचैना पुगेको प्रहरीले थप अनुसन्धान गर्दा कुटपिटको क्रममै संजितको मृत्यु भएको र उपचारको बहानामा शव भारत लगेको खुलेको सिरहाका डिएसपी रविन्द्रराज पाण्डेयले जानकारी दिए । उनका अनुसार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले माडरको बोर्डर क्षेत्रबाट गत शनिवार देवेन्द्रलाई पक्राउ गरी सोधपछु गर्दा श्रीमतीको शव भारतमै फालेर आएको बताएका थिए ।

नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०÷३५ किलोमिटरको दुरीमा रहेको भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँमा रहेको झाडीबाट आइतबार विहान सञ्जिताको शव फेला परेको थियो । भारतीय प्रहरीसँगको समन्वयमा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी सञ्जिता शव पोष्टमर्टम गरिएको डिएसपी पाण्डेयले बताए । उनका अनुसार देवेन्द्रलाई ९ मंसिरदेखि लागू हुनेगरी सिरहा अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले सार्वजनिक गरेको ५१ वर्षीय रामअशिषविरूद्ध बुहारी संगिताकुमारी दासको गत २७ कात्तिकमा हत्या गरेको आरोप छ । छोरा राजकिशोर मेला हेर्न गएका बेला घरायसी विवादको क्रममा बुहारीको टाउकोमा बञ्चरो प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरिक्षक पाण्डेयले बताए ।

बुहारीको हत्यापछि लुकीछिपी बस्दै आएका दासलाई इलाका प्रहरी कार्यालय मिर्चैया र मातहतको कल्याणपुर प्रहारीको संयुक्त टोलीले खोजतलासको क्रममा गत मंसिर १ गते पक्राउ गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७