प्रधानमन्त्रीको नेतृत्वमा आज बेलुका दुबई जाने ३२ सदस्यीय टोलीमा को–को ?


१३ मंसिर २०८०, बुधबार
prachanda 9

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रतिनिधिमण्डलका ३२ सदस्यीय टोली आज (बुधबार) बेलुका युएई प्रस्थान गर्ने भएको छ । नेपाल एयरलाइन्सको विमानबाट आज राति ९ः३० बजे जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप-२८) मा भाग लिन आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा वनमन्त्री वीरेन्द्र महतो, अर्थसचिव कृष्णहरी पुस्कर, वन सचिव दिपककुमार खरेल, परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्साल र प्रोटोकल चिफ दिलिपकुमार पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकी, प्रचण्डकी छोरी गंगा दाहालसहित १८ सदस्यीय टोली रहनेछ । उक्त टोलीमा ३-३ जना सुरक्षा अधिकारी र पत्रकार समेत सहभागी हुनेछन् ।

यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठलगायत १४ जना व्यवसायीहरु पनि उक्त टोलीमा रहने छन् । आबुदाबीमा रहेको नेपाली राजदूतका अधिकारीहरु भने युएईमै भ्रमण टोलीसँग सम्मिलित हुनेछन् ।

कोप–२८ मंसिर १४ गतेदेखि २६ गतेसम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन् ।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको अवार्ड समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र प्रमुख-सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७