जसले श्रीमतीको घरमै हत्या गरे, उपचारको वहानामा भारत लगेर झाडीमा फ्याँके


२०८० मङ्सिर १३ बुधबार ०८:०४ बजे

सिरहा । यही मंसिर ८ गते राति ८ बजेको समयमा सिरहा नगरपालिकामा एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरी भारततर्फ लगेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालय सिरहामा पुग्यो ।

मंसिर ७ गते राति करिब १० बजेको समयमा सिरहा नगरपालिका १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवले श्रीमती ३० वर्षकी संजिता कुमारी यादवलाई मरणासन्न हुने गरी कुटेका थिए । उनले उपचारको लागि भन्दै मरणासन्न अवस्थामा भारतको जयनगरतर्फ लगेको सूचना प्रहरीले भोलिपल्ट (मंसिर ८ गते) मात्रै पाएको थियो ।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले देवेन्द्रको खोजी गरेको थियो। प्रहरीले खोजीकार्यलाई तीब्र पारेपछि देवेन्द्रलाई मंसिर ९ गते दिउँसो माडर–खिरौना बोर्डर आसपासबाट पक्राउ गर्न सफल भएको सिरहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

सोही नगरपालिका वडा नम्बर १७ स्थित बोर्डर आसपासमा लुकीछिपी हिँडिरहेको अवस्थामा यादव पक्राउ परे । तर उपचारको लागि भन्दै साथमा लिएर हिँडेको श्रीमती संजिता साथमा थिइनन् । अनुसन्धानका क्रममा देवेन्द्रले श्रीमतीको हत्या गरी भारतको झाडीमा फालेको खुल्न आएको डिएसपी पाण्डेले बताए । उनका अनुसार देवेन्द्रले ७ गते राति श्रीमती संजितालाई आफ्नै घरमा इट्टा र बाँसको भाटाले कुटपिट गरी हत्या गरेका थिए । कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि देवेन्द्रले संजिताको शवलाई लिएर उपचारको लागि भन्दै भारतर्फ गएको प्रहरीले जनाएको छ ।

सोधपुछको क्रममा देवेन्द्रले संजिताको शवलाई नेपालको सीमा क्षेत्रबाट करिब ३७ किलोमिटर भित्र पर्ने भारतको मधुवनी जिल्लाको सलरास्थित झाडीमा फालेको बयान दिएका थिए । उनको बयानकै आधारमा भारतीय प्रहरीसँगको समन्वयमा प्रहरी टोली परिचालन गरि शव खोजतलास गर्दा भारतको खजोलीथाना अन्तर्गतको क्षेत्र सलरास्थित झाडीमा फेला परेको डिएसपी पाण्डेले जानकारी दिए ।

उनका अनुसार भारतीय प्रहरीसँग समन्वय गरी संजिताको शव कानुनी प्रक्रिया पुरा गरी झिकाइएको छ । संजिताको शव उनका आफन्तले बुझिसकेका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादको क्रममा देवेन्द्रले संजितालाई कुटपिट गरेको खुल्न आएको बताउँदै डिएसपी पाण्डेले थप अनुसन्धान भइरहेको बताए ।

श्रीमतीको हत्या गर्ने देवेन्द्रलाई भने जिल्ला अदालत सिरहाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि मंसिर ९ गतेबाट लागू हुने गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७