लमजुङमा नेपालमै पहिलो समलिङ्गी विवाह दर्ता


२०८० मङ्सिर १३ बुधबार ११:१९ बजे

लमजुङ । लमजुङको दोर्दी गाँउपालिकाले एक समलिङ्गी जोडीको विवाह दर्ता गरेको छ । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो ।

लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिङ्गी विवाह दर्ताका लागि निवेदन दिएका थिए । सोही अनुसार उनीहरूको बिहे दर्ता भएको हो । अधिकारीहरूले सो समलिङ्गी विवाह नेपालकै पहिलो भएको दाबी समेत गरेका छन् । पिङ्की गुरुङ भन्ने संजीव गुरुङ समेतको रिट निवेदनका सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशलाई आधार मानेर विभागले गाउँपालिकालाई विवाह दर्ता गरिदिन भनेको हो ।

उक्त मुद्दामा सर्वोच्च अदालतले रिट निवेदनको अन्तिम किनारा लगाउँदाको बखत अन्यथा हुने ठहरेमा सोही बमोजिम हुने गरी हाललाई उक्त रिट निवेदनका निवेदकहरू र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह गर्न पाउने आवश्यक व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको थियो ।

‘सम्मानित अदालतबाट उक्त रिट निवेदनको अन्तिम किनारा लागेमा सोही बमोजिम हुने गरी हाललाई सम्बन्धित जोडीले भरेको सूचना फारमका आधारमा अनलाइन विवाह दर्ताको प्रमाणपत्र प्रिन्ट गरी प्रमाणपत्रमा ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाहको अस्थायी अभिलेख रहने गरी जारी गरिएको’ व्यहोरा हातले लेखी प्रमाणपत्र जारी गर्नु हुन र उक्त प्रमाणपत्र र सूचना फारमलाई स्क्यान गरी प्रणालीमा अपलोड गर्नुहुन,’ विभागले गाउँपालिकालाई पठाएको पत्रमा भनिएको छ । नेपालमा धेरै समलिङ्गी जोडीहरु विवाह दर्ताको पर्खाइमा रहेको बताइने गरेको छ ।

गत मार्चमा जर्मनीको अदालतले पनि समलिङ्गी विवाद दर्ताको आदेश दिएको थियो । नेपाल समलिङ्गी विवाहलाई मान्यता दिने एसियाको दोस्रो राष्ट्र बनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७