दुबईमा प्रधानमन्त्रीको पाँच दिन : गोलमेचदेखि यूएईको राष्ट्रिय दिवससम्म सहभागिता


१४ मंसिर २०८०, बिहीबार
Prachanda ua

काठमाडौँ । संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) का क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मेलन आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्सको राष्ट्रिय दिवसमा पनि सहभागिता हुने भएका छन् ।

सम्मेलनका लागि प्रधानमन्त्री नेपाल वायु सेवा निगमको आरए–२२९ उडानबाट बुधबार साँझ दुबई प्रस्थान गरेका छन् । राति १ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्, जहाँ उनलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि अब्दुल्ला एम साम्सीले स्वागत गरेका छन् । दुबईमा उनको बास राफेल्स दुबई वाफी होटलमा हुने कार्यक्रम छ । बिहीबार बिहान पौने १० बजे उनले कोप–२८ का अध्यक्ष डा. सुल्तान विन अहमद अब जावेसँग भेटघाट गर्नेछन् ।

prachanda 10

दिउँसो १२ बजे नेपाली राजदूतावासमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी सेराटन होटलमा नेपाली समुदायको कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन् । दुबईमा उनले त्यहाँको विशाल मस्जिद (ग्य्राण्ड मस्क) भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ । अपरान्ह ३ बजे मस्जिद पुगेर प्रधानमन्त्रीले २० मिनेट मस्जिद भ्रमण तथा अवलोकन गर्नेछन् ।

बिहीबार साँझ उनको वास राफेल्स दुबई वाफीमा हुने छ। साँझ ७.३० बजे राफेल्स होटलको बालरुपमा नेपाल च्याम्बर्स अफ कमर्सको दुबई शाखाले आयोजना गरेको कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् । शुक्रबार (१५ मंसिर) बिहान साढे ९ बजे यूएईका राष्ट्रपति मोहम्मद विन जायेद अल नाह्यानसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नेछन्। राष्ट्रपति नाह्यान र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता २० मिनेट हुने तय भएको छ ।

त्यसपछि उनले कोप–२८ सम्मेलनस्थलमा राखिएको नेपाली पेभिलियन अवलोकन गर्नेछन् भने ११ः४० मा विश्व वातावरण सम्मेलनमा सहभागी हुनेछन् । साढे १ बजे ‘ट्रान्सफर्मिङ फुड सिस्टम इन द फेस अफ क्लाइमेट चेन्ज’ कार्यक्रममा सहभागिता जनाउने छन् । सम्मेलनस्थलमै उनले यूएईका उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यी दुई भेटघाट शुक्रबार दिउँसो २ बजेको आसपास हुनेछन् ।

त्यसै दिन ४ः४० मा ‘वातावरण अनुकूलनसम्बन्धी सम्मेलन’ मा सहभागी हुने उनी साँझ ६ः४५ बजे ‘जायेद दिगोपन पुरस्कार वितरण’ कार्यक्रममा सहभागी हुने योजना बनेको छ । त्यसअघि २ः४५ मा ‘क्लाइमेट फाइनान्स’सम्बन्धी अर्काे बैैठकमा पनि उनी सहभागी हुनेछन् । शनिबार (१६ मंसिर) मा सम्मेलनस्थलको ‘साइडलाइन’ का रूपमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको राउण्ड टेबल बैठक आयोजना गरेका छन् । सो बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुने तय भइसकेको छ । कार्यक्रमका लागि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएका छन् । तर, मोदी सहभागी हुने–नहुने टुङ्गो छैन । मध्य–एसियाली मुलुक किर्गिस्तानका राष्ट्रपति सादर जापारोभ बैठकमा सहभागी हुने प्रबल सम्भावना छ ।

Prachanda purnabahadur

नेपालद्वारा आयोजित राउण्ड टेबल बैठक सकिएपछि कोप–२८ अन्तर्गतकै अर्काे कार्यक्रममा उनी सहभागी हुनेछन् । शुक्रबार साँझ ५ बजे कोप–२८ को समापन कार्यक्रम हुनेछ, जहाँ प्रधानमन्त्री प्रचण्ड पनि उपस्थित हुनेछन् । शनिबार साँझ नै कोप–२८ को आयोजक राष्ट्र यूएईले राष्ट्रिय दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरेको छ, जहाँ कोप–२८ मा सहभागी प्रतिनिधिमण्डलका प्रमुखहरू उपस्थित हुनेछन् । प्रधानमन्त्री प्रचण्ड त्यसमा सहभागी हुनेछन् । आइतबार (१७ मंसिर) मा प्रधानमन्त्री नेपाल फर्कनेछन्। तर, नेपाल फर्कनुअघि दुई कार्यक्रम तय भएका छन् । तिनमा एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु आसाकावाले प्रधानमन्त्री प्रचण्डसँग गर्ने भेटघाट र ‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ सम्बन्धी कार्यक्रम छन् ।

‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ मा प्रधानमन्त्रीले सम्बोधन गर्ने योजना छ । तर, साढे १२ बजे फ्लाई दुबईको ‘एफजेट ५७५ उडान’ बाट काठमाडौँ प्रस्थान गर्ने पूर्व निर्धारित कार्यक्रमका कारण ‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ मा सम्बोधन गर्ने–नगर्ने टुङ्गो लागेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७