एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट, अध्यक्ष ओलीले उदघाटन गर्दै


२०८० मङ्सिर १४ बिहीबार ०७:१२ बजे

बैतडी । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (बिहीबार) देखि मध्यपहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा शुरु गर्दैछ । पदयात्रा शुभारम्भका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता बैतडी पुगिसकेका छन् ।

बिहान साढे ८ बजे अध्यक्ष ओलीले पदयात्राको उदघाटन गर्ने एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईलगायतका नेताहरू छन् ।

अध्यक्ष ओलीले नेपालको झण्डा झण्डोत्तोलन गरेर पदयात्राको उद्घाटन गर्ने सचिव विश्वकर्माले बताए। कार्यक्रमको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी बैतडीको खोड्पेमा सन्देश सभा आयोजना गरिने छ । टोलीले डडेल्धुराको उग्रतारा दर्शन गर्ने, १५ गते डडेल्धुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देश सभा गर्ने, डोटीको दिपायल र सिलगढीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यतालिका रहेको छ ।

१६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्षसहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने जनाएको छ । झुलाघाटदेखि अछामको बेलखेतसम्म सुदूरपश्चिम प्रदेशको ३५८ किलोमिटर छिचोल्ने र सो अभियानमा २५० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।

एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले सो अभियानका क्रममा सुदूरपश्चिममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने बताएका छन् । १९ दिनमा सङ्कल्प यात्राको पुस ५ गते सन्देश प्रवाह गर्ने गरेर काठमाडौंमा समापन हुने बताइएको छ । बैतडीबाट सुरु हुने कार्यक्रम पाँचथरको चिभञ्याङसम्म पुग्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७